अर्थमन्त्रीको २१ बुँदे प्याकेजले ततायो पुँजी बजारः कारोबार ८ अर्ब पार, यी कारण आउनेछ बुल!

काठमाडौँ । सरकारले शेयर बजार सुधारका लागि लक्षित राहत तथा सुधारका योजना सार्वजनिक गरेसँगै शेयर बजारमा उत्साह थपिएको छ । पछिल्लो तेस्रो दिन पनि बजारमा सुधार देखिएको छ भने मंगलबार कारोबार सुरु भएलगत्तै नेप्से परिसूचक ९० अंकभन्दा बढीले उकालो लागेको थियो । लामो समयदेखि सुस्त रहेको बजारमा एकाएक देखिएको यो उत्साहलाई लगानीकर्ताले सरकारको पछिल्लो नीतिगत पहलप्रतिको सकारात्मक प्रतिक्रियाका रूपमा लिएका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारका लागि छुट्टै प्याकेज ल्याउने तयारी भइरहेको संकेत गरेपछि नै बजारमा सकारात्मक माहोल देखिन थालेको थियो । त्यसको निरन्तरतास्वरूप सोमबार साँझ अर्थ मन्त्रालयले शेयर बजारलाई लक्षित गर्दै २१ बुँदे राहत तथा सुधारसम्बन्धी योजना सार्वजनिक गरेपछि मंगलबार लगानीकर्ताको मनोबल थप बढेको हो । नयाँ सरकार गठन भएयता निरन्तर दबाबमा रहेको बजार अब नीतिगत सुधारसँगै पुनः आफ्नो लयमा फर्किन सक्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।
विशेषगरी लामो समयदेखि बजारमा चासोको विषय बन्दै आएको पूँजीगत लाभकरसम्बन्धी प्रस्तावले लगानीकर्ताको उत्साह बढाएको छ । धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्दै हाल कायम पूँजीगत लाभकर घटाउने र कारोबारमा भएको नाफा–घाटा समायोजनपछि देखिएको खुद नाफामा मात्रै कर लगाउने व्यवस्था प्रस्ताव गरिएको छ। कार्ययोजनाअनुसार ३६५ दिनभन्दा बढी समय स्वामित्वमा राखिएको सेयर बिक्रीबाट प्राप्त लाभमा लाग्ने पूँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर ३.७५ प्रतिशतमा झार्ने प्रस्ताव गरिएको छ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधिसम्म राखिएको सेयर बिक्रीबाट हुने लाभमा करको दर १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गर्ने प्रस्ताव छ ।
सरकारले अघि सारेको अर्को महत्वपूर्ण सुधार नाफा र घाटा समायोजनसँग सम्बन्धित छ । प्रस्तावित व्यवस्थाअनुसार कुनै आय वर्षमा सूचीकृत धितोपत्र बिक्री गर्दा भएको घाटालाई सोही आय वर्षमा अर्को सूचीकृत धितोपत्र बिक्रीबाट भएको नाफासँग समायोजन गर्न सकिनेछ। अध्ययनपछि लाभकर गणना विधिमा समेत सुधार गर्दै कारोबार तथा राफसाफ प्रणालीबाटै नाफा–घाटा समायोजन गर्ने व्यवस्था मिलाइने योजना छ । यसबाट वर्षभरिका सबै कारोबारको नाफा र घाटा हिसाब गरेपछि खुद नाफा देखिएमा मात्रै तोकिएको दरअनुसार पूँजीगत लाभकर असुल हुने भएकाले लगानीकर्तामाथिको करको वास्तविक भार घट्न सक्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय करिब साढे चार महिनादेखि सुस्त रहेको शेयर बजारलाई सरकारले अघि सारेका यी सुधारका योजनाले नयाँ गति दिने विश्वास लगानीकर्तामा देखिएको छ । करको दरमा प्रस्तावित कटौती, नोक्सानी समायोजनको सुविधा तथा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने नीतिले बजारमा लगानीकर्ताको विश्वास फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.५७ अकंले बढेर २६३३.६२ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज सर्वाधिक जीवन बीमा कम्पनी, निर्जीवन बीमा र फाइनान्सको शेयर मूल्य बढेको हो ।
मंगलबार २६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य मात्रै घटेको छ । आज १ कम्पनीको शेयर मूल्य पनि स्थिर रहेको हो ।










