हवाई यात्रुको बीमा दायित्व पाँच गुणा बढाउने प्रस्ताव

काठमाडौं । सरकारले हवाई यात्रुको अधिकार र क्षतिपूर्तिलाई कानुनी रूपमा सुनिश्चित गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ, ब्यागेज हराउनेलगायतका घटनामा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति तथा अधिकारलाई कानुनमै सुनिश्चित गर्न लागिएको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार आन्तरिक वायुसेवा प्रदायकको कानुनी दायित्व, यात्रुको अधिकार तथा क्षतिपूर्तिसम्बन्धी विषयलाई विधेयकमार्फत व्यवस्थित गर्न लागिएको छ।सरकारले हाल अभ्यासमा रहेको करिब २० हजार अमेरिकी डलर बराबरको बीमा दायित्वलाई बढाएर १ लाख अमेरिकी डलर पुर्याउने प्रस्ताव गरेको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार हवाई यात्रुको बीमा दायित्व बढाउन लागिएको मन्त्री पौडेलले बताए।
हालको व्यवस्थाको तुलनामा प्रस्तावित बीमा दायित्व पाँच गुणाले बढी हुनेछ। यसबाट हवाई दुर्घटनामा यात्रुको मृत्यु वा अन्य क्षति भएमा बीमा तथा क्षतिपूर्तिबाट प्राप्त हुने रकम बढ्ने अपेक्षा गरिएको छ।
मन्त्री पौडेलले बीमा दायित्व बढाउँदा वायुसेवा कम्पनीको लागत बढ्न सक्ने र त्यसको प्रभाव भविष्यमा हवाई भाडादरमा समेत पर्न सक्ने भन्दै त्यसप्रति सबै सहज हुनुपर्ने धारणा राखे।
गैर–यात्रुले पनि क्षतिपूर्ति पाउने कानुनी आधार
प्रस्तावित विधेयकले विमान दुर्घटनामा यात्रु मात्रै नभई जमिनमा रहेका सर्वसाधारण तथा घर–सम्पत्तिमा हुने क्षतिलाई समेत सम्बोधन गर्ने व्यवस्था गर्न लागेको छ।
विमान दुर्घटनाका कारण गैर–यात्रुको ज्यान गएमा वा उनीहरूको घर तथा सम्पत्तिमा क्षति पुगेमा समेत क्षतिपूर्ति उपलब्ध गराउने कानुनी आधार पहिलोपटक तय गर्न लागिएको मन्त्री पौडेलले बताए।
सरकारले हवाई दुर्घटनाबाट उत्पन्न हुने दायित्वलाई यात्रुमा मात्र सीमित नराखी तेस्रो पक्ष ९त्जष्चम एबचतथ० को जोखिम र क्षतिपूर्तिलाई समेत कानुनी दायरामा ल्याउने तयारी गरेको हो।
नियमनकारी र सेवा प्रदायक निकायको विभाजन तथा विमानस्थल सञ्चालनसम्बन्धी विषय भने नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी छुट्टै विधेयकमार्फत सम्बोधन हुने मन्त्री पौडेलले जानकारी दिए।









