ऋण लिने सोचमा हुनुहुन्छ? यी बैंकले असोजका लागि घटाए ब्याजदर

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकले असोजका लागि नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जाको मागमा अपेक्षाअनुसार वृद्धि हुन नसकेपछि अधिकांश बैंकले निक्षेपको ब्याजदरलाई भदौकै स्तरमा राखेका छन् भने केही बैंकले व्यक्तिगत तथा संस्थागत निक्षेपको दर घटाएका छन्।
असोजका लागि २० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८ प्रतिशत कायम भएको छ। यो भदौमा रहेको ४.१३ प्रतिशतको औसतभन्दा ०.०४ प्रतिशतले कम हो। त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.०८१ प्रतिशतबाट ०.०१४५ प्रतिशतविन्दुले घटेर ३.०६६५ प्रतिशतमा आएको छ।
ब्याजदर घटाउनेमध्ये एभरेष्ट बैंक अगाडि देखिएको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर भदौको ४.०५ प्रतिशतबाट ०.५५ प्रतिशतविन्दुले घटाएर असोजमा ३.५० प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपको ब्याजदरसमेत ३.५० प्रतिशतबाट ०.२५ प्रतिशतविन्दुले घटाउँदै ३.२५ प्रतिशतमा झारेको छ।
नबिल बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.५५ प्रतिशतबाट ०.३० प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशतमा सीमित गरेको छ। संस्थागत निक्षेपको दर भने ३.०१ प्रतिशतमा यथावत् छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फको ब्याजदर ३.८० प्रतिशतबाट ०.०५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत बनाएको छ। कुमारी बैंकले पनि व्यक्तिगत निक्षेपको दर ३.७६ प्रतिशतबाट ०.०३ प्रतिशतविन्दुले घटाउँदै ३.७३ प्रतिशत कायम गरेको छ। संस्थागततर्फ भने दुवै बैंकले क्रमशः २.७५ प्रतिशत र ३.०१ प्रतिशतकै दरलाई निरन्तरता दिएका छन्।
सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत निक्षेपको ब्याजदरमा ०.२५ प्रतिशतविन्दुको कटौती गरेको छ। भदौमा ३ प्रतिशत रहेको उक्त दर असोजमा २.७५ प्रतिशतमा झरेको छ। व्यक्तिगत निक्षेपको ब्याजदर भने ३.८५ प्रतिशतमा परिवर्तन भएको छैन।
असोजमा संस्थागत निक्षेपको ब्याजदर बढाउने बैंकका रूपमा सानिमा बैंक मात्र देखिएको छ। बैंकले यस्तो निक्षेपमा दिने अधिकतम ब्याजदर ३.३० प्रतिशतबाट ०.२१ प्रतिशतविन्दुले बढाएर ३.५१ प्रतिशत पुर्याएको छ। व्यक्तिगत निक्षेपमा भने ४.५० प्रतिशतकै दर कायम गरिएको छ।
व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा धेरै ४.५५ प्रतिशत ब्याजदर प्रभु बैंकले दिएको छ। बैंकको संस्थागत निक्षेपको दर २.७५ प्रतिशत छ। माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनएमबि बैंकले व्यक्तिगत निक्षेपमा समान ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्। तीमध्ये माछापुच्छ्रे बैंकको संस्थागत दर ३ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा र एनएमबि बैंकको संस्थागत दर ३.५० प्रतिशत रहेको छ।
कृषि विकास बैंक र नेपाल बैंकले व्यक्तिगत निक्षेपमा समान ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन्। कृषि विकास बैंकको संस्थागत दर २.७५ प्रतिशत र नेपाल बैंकको ३.५० प्रतिशत छ। नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ४.१० प्रतिशत तथा संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर तोकेको छ।
प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपमा ४ प्रतिशत तथा संस्थागत निक्षेपमा २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्। एनआइसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर दिएका छन्। लक्ष्मी सनराइज बैंकले व्यक्तिगत निक्षेपमा ४ प्रतिशत र संस्थागतमा ३.२५ प्रतिशत कायम गरेको छ। हिमालयन बैंकले व्यक्तिगततर्फ ४ प्रतिशत तथा संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
सिद्धार्थ बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ३.७६ प्रतिशत र संस्थागत निक्षेपको ३.०५ प्रतिशत रहेको छ। यी दर भदौकै स्तरमा कायम छन्। त्यस्तै, सिटिजन्स बैंकको व्यक्तिगत दर ३.८५ प्रतिशत र संस्थागत दर २.७५ प्रतिशत रहेको छ।









