चार महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता

३१ भाद्र २०८३, बुधबार १२:२४

काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधनको दर्ता पुनः खुला गरेको छ। वातावरणीय प्रभावलाई कारण देखाउँदै गत ७ जेठदेखि अनिश्चितकालका लागि रोकिएको सार्वजनिक सवारीको दर्ता यातायात व्यवसायी, सवारी आयातकर्ता तथा बिक्रेताहरूको दबाबपछि करिब चार महिनापछि खुला गरिएको हो।

यातायात व्यवस्था विभागले १ असोजदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको जनाएको छ। विभागका अनुसार दर्तामा विशेषगरी विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइएको छ।

काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राख्दै हाललाई उपत्यकाबाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला गरिएको विभागले जनाएको छ।

यसअघि विभागले १८ साउनदेखि सार्वजनिक मालवाहक सवारीसाधनको दर्तासमेत खुला गरेको थियो। सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्म रोक्का गर्ने निर्णय गरेको विभागले चरणबद्ध रूपमा दर्ता प्रक्रिया खुला गर्दै आएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*