तेस्रो ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न, २४ विधाका सर्जक सम्मानित

३१ भाद्र २०८३, बुधबार १३:१५

काठमाडौं । गीत–सङ्गीत तथा चलचित्र क्षेत्रमा योगदान पुर्‍याउँदै आएका सर्जक र कलाकारलाई सम्मान तथा पुरस्कृत गर्दै तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ सम्पन्न भएको छ । ओप्सना फिल्म्सको आयोजनामा आइतबार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजित समारोहमा गीत–सङ्गीत र चलचित्र क्षेत्रका विभिन्न विधाका प्रतिभालाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो ।

आयोजक संस्था ओप्सना फिल्म्सका निर्देशक ओम प्रकाश राईको सभापतित्व तथा विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा ‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल भावलाई आत्मसात् गरिएको थियो । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको अवार्डमा पब्लिक च्वाइससहित गीत–सङ्गीत र चलचित्र क्षेत्रका विभिन्न २४ विधामा सर्जक तथा कलाकारलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

समारोहमा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार बुद्धवीर लामा ‘जीवन साधना सम्मान’बाट सम्मानित भए । त्यस्तै वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डेलाई ‘विशिष्ट गायन रत्न सम्मान’ प्रदान गरिएको थियो । गीत–सङ्गीत तथा चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका अन्य १२ जना सर्जक तथा कलाकारलाई पनि विभिन्न सम्मानबाट सम्मानित गरिएको थियो ।

अवार्डको निष्पक्ष मूल्याङ्कनका लागि सङ्गीतकार राजु सिंह, सङ्गीतकार तथा सङ्गीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक तथा कलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी जुरी सदस्यका रूपमा रहेका थिए ।

कार्यक्रमलाई सेसेमी लिम्बूले सञ्चालन गरेकी थिइन् भने समारोहमा सहभागी अतिथि तथा आमन्त्रितलाई अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा शेर्पा राईले स्वागत गरेकी थिइन् । समारोहमा जुरी सदस्यहरूसँगै वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक तथा कलाकार हस्त लिबाङ, गीतकार डी. आर., सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्यबहादुर मगर तथा सञ्चारकर्मी माधवराज खरेल र तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति थियो ।

कलाकार तथा सर्जकको सिर्जनशीलता र योगदानलाई केन्द्रमा राखिएको समारोहलाई विभिन्न संस्था तथा व्यावसायिक प्रतिष्ठानले सहकार्य गरेका थिए । कार्यक्रमको प्रायोजन नेपाल टेलिकम, फाइन्ड नेपाली डटकम, एभ्रीथिङ अन नेपाल, नेपाल बैंक, कृषि विकास बैंक, ज्ञानोदय बालबाटिका आवासीय मा.वि. र एसवाई कन्सल्टेन्ट्सलगायतले गरेका थिए ।

त्यस्तै बुन्चट कलेक्शन र सेवा रेकर्डिङले सपोर्टरका रूपमा साथ दिएका थिए भने डिस होम इन्टरनेट पार्टनरका रूपमा जोडिएको थियो । अवार्ड समारोहको प्रत्यक्ष प्रसारण रमाइलो टेलिभिजन र गुञ्जन टेलिभिजनले गरेका थिए ।

सम्मानित व्यक्ति र विधा:

१) सङ्गीत जीवन साधना सम्मान : दीपक खरेल
२) सङ्गीत जीवन साधना सम्मान : वुद्धवीर लामा
३) विशिष्ट गायन रत्न सम्मान : आनन्द कार्की
४) विशिष्ट गायन रत्न सम्मान : प्रदीपराज पाण्डे
५) विशिष्ट चलचित्रकर्मी सम्मान : निखिल उप्रेती
६) विशिष्ट चलचित्रकर्मी सम्मान : सन्चिता लुइँटेल
७) विशिष्ट चलचित्रकर्मी सम्मान : पूजना प्रधान गुरुङ
८) गायक तथा संगीतकार सम्मान : अशोक मुकारुङ
९) चलचित्रकर्मी सम्मान : किशोर झा
१०) गायक सम्मान : पुष्कर सुनुवार
११) गायक तथा संगीतकार सम्मान : चित्र आठपहरिया
१२) ट्याटु कलाकार सम्मान : सुनिता कुँवर
१३) सम्मान : प्रशान्त पाराङदेन लिम्बू
१४) सम्मान : कविता राई
१५) निर्माता सम्मान : श्रीकृष्ण बिष्ट
१६) गायक सम्मान : निमा शेर्पा

अवार्ड पाउनेहरुको नाम र विधा:

१) सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत – यो देशले तिम्रो
२) सर्वोत्कृष्ट भजन गायक – मोतिराज खनाल
३) सर्वोत्कृष्ट गीतकार – चन्द्र जयपाल राई
४) सर्वोत्कृष्ट पप गायिका – तपस्या राई
५) सर्वोत्कृष्ट पुरुष मोडेल – ज्ञानदिप सुवेदी
६) सर्वोत्कृष्ट लोक गायक – सोम गुरुङ
७) सर्वोत्कृष्ट सङ्गीतकार – सुरेश राई
८) सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक – किशोर सुब्बा
९) सर्वोत्कृष्ट आधुनिक गायक – मेघराज रानोहन्छा
१०) सर्वोत्कृष्ट लोक आधुनिक गायिका – सुनिता राई
११) सर्वोत्कृष्ट युगल गायिका – मेनुका राई
१२) सर्वोत्कृष्ट आधुनिक गीतकार – कुमार केरुङ
१३) सर्वोत्कृष्ट लिम्बू पालाम गायक – भीमकुमार तुम्बापो
१४) सर्वोत्कृष्ट भिडिओ सम्पादक – मोहन सुनुवार
१५) सर्वोत्कृष्ट लोक पूर्वेली गायिका – सुमी चाम्लिङ राई
१६) तीज गीत – स्वेता कार्की
१७) लोक युगल निर्देशक – शिवजी क्षेत्री
१८ ) वर्षका उत्कृष्ट चलचित्र निर्देशक – हस्त बहादुर लिबाङ (लिम्बू)

जनमत (पब्लिक च्वाइस) अवार्ड पाउनेहरुको नाम र विधा :

१) सर्वोत्कृष्ट युगल गायक : बबिना किराँती र सुमन राई
२) सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत : टेक तामाङ
३) सर्वोत्कृष्ट गीतकार : मीरा देवी राई
४) सर्वोत्कृष्ट पप गायिका : सरगम राई
५ ) सर्वोत्कृष्ट लोक गायक : रामचन्द्र चन्द
६) सर्वोत्कृष्ट भिडिओ निर्देशक : कुबेर तामाङ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*