तालिममा प्रशिक्षक बनाइदिने भन्दै ४५ हजार घुस, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

३१ भाद्र २०८३, बुधबार १३:४८

काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले सञ्चालन गरेको ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाइदिने भन्दै उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस मागेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। उक्त रकम उनका छोरा सुनिलको बैंक खातामा रहेको क्युआर कोडमार्फत जम्मा गर्न लगाइएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार उपाध्यक्ष राईले पदीय जिम्मेवारीको दुरुपयोग गर्दै छोरा सुनिलसँगको मिलेमतोमा सेवाग्राहीबाट ४५ हजार रुपैयाँ रिसवत लिएकी थिइन्। सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले सोही दफाको उपदफा (१) को देहाय (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।

त्यस्तै, सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिई प्रयोगमा ल्याएको अख्तियारले जनाएको छ। उनको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*