अर्थमन्त्रीमाथि अविश्वास कायमैः एक्जिट हुँदै ठुला लगानीकर्ता, यी हुन् गिरावटका मुख्य कारण!

काठमाडौँ । अर्थ मन्त्रालयले शेयर बजार सुधारका लागि २१ बुँदे राहत तथा सुधार प्याकेज सार्वजनिक गरेपछि अघिल्लो दिन उत्साहजनक रूपमा उकालो लागेको शेयर बजार पुनः राताम्य बनेको छ । नयाँ सरकार गठन भएयता लगातार सुस्त देखिएको बजारलाई चलायमान बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले नीतिगत सुधारसहितको प्याकेज अघि सारेका थिए । सरकारले बजारको मनोबल बढाउने उद्देश्यले विभिन्न सुधारका उपाय अघि सारे पनि लगानीकर्ताको विश्वास तत्कालै फर्किन नसकेको पछिल्लो कारोबारले देखाएको छ । अघिल्लो दिनको तीव्र वृद्धिपछि पुनः बजारमा बिक्री चाप देखिनुले सरकारी घोषणामात्रै पर्याप्त नभएको र लगानीकर्ताले त्यसको कार्यान्वयन तथा दीर्घकालीन प्रभावलाई अझै पर्खेर हेर्ने अवस्था रहेको संकेत गरेको छ ।
शेयर बजारमा देखिएको यो उतारचढाव नयाँ भने होइन । सरकारले यसअघि पनि बजार सुधारका लागि विभिन्न पहल गर्दै आएको छ भने नेपाल राष्ट्र बैंकले समेत मौद्रिक तथा नियामकीय नीतिमार्फत बजारमा सहजता ल्याउने प्रयास गरिसकेको छ । तर, ती नीतिगत परिवर्तनले अपेक्षित रूपमा बजारको गति फर्काउन सकेका छैनन्। त्यसैले अर्थ मन्त्रालयबाट थप बल पुर्याउने उद्देश्यले ल्याइएको २१ बुँदे प्याकेजप्रति पनि लगानीकर्ताले तत्काल उत्साह देखाउन नसकेको देखिन्छ।
यद्यपि, बजारमा सबै लगानीकर्ताको धारणा भने निराशाजनक छैन । केही लगानीकर्ताले पछिल्लो गिरावटलाई बजार प्रवेशका लागि अवसरका रूपमा व्याख्या गरिरहेका छन्। उनीहरूका अनुसार बजारमा क्रमिक रूपमा करेक्सन हुँदै आधार बलियो बन्न सके आगामी दिनमा दिगो वृद्धि हुनसक्ने सम्भावना रहन्छ। बजार लामो समयदेखि दबाबमा रहेकाले मूल्य घटेका कम्पनीमा क्रमशः लगानी बढाउने रणनीति अपनाउन सकिने धारणा पनि कतिपय लगानीकर्ताले राखिरहेका छन्।
अर्कोतर्फ, पछिल्लो समय लगानीकर्तामा देखिएको अर्को प्रमुख चिन्ता सरकारी नियमन र सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई लिएर छ। विशेषगरी साना–ठूला कारोबारमा नियामकीय निगरानी बढ्दै जाँदा केही लगानीकर्ता थप लगानी गर्न हिच्किचाइरहेको बजार सहभागीहरूको बुझाइ छ। ठूला लगानीकर्ता सक्रिय रूपमा बजारमा प्रवेश नगर्दा कारोबारमा आवश्यक माग सिर्जना हुन नसकेको र साना लगानीकर्ताको मात्र सहभागिताले बजारलाई निरन्तर माथि लैजान कठिन भएको विश्लेषण पनि भइरहेको छ। यस्तो अवस्थामा सरकार र नियामक निकायले बजारमा पारदर्शिता तथा वित्तीय अनुशासन कायम राख्दै वास्तविक लगानीकर्तालाई अनावश्यक रूपमा निरुत्साहित नहुने वातावरण बनाउनुपर्ने चुनौती देखिएको छ।
यसैबीच, शेयर बजारमा लाभांश सिजनसमेत सुरु भएको छ। विभिन्न सूचीकृत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा लाभांश प्रस्ताव गर्न थाले पनि कतिपय कम्पनीको लाभांश अपेक्षाभन्दा कम आएपछि लगानीकर्तामा उत्साह बढ्न सकेको छैन। लगानीकर्ताले लामो समयदेखि कमजोर बजारको अवस्थामा तुलनात्मक रूपमा आकर्षक प्रतिफलको अपेक्षा गरे पनि लाभांश घोषणाले त्यसअनुसारको मनोबल निर्माण गर्न नसकेको अवस्था छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१९ अकंले घटेर २६१२.४२ बिन्दुमा कायम भएको छ । आज २५० कम्पनीको १ करोड ५० लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज जीवन बीमा समूह र जलविद्युत समूहको शेयर मूल्य सर्वाधिक ओरालो लागेको हो ।

बुधबार ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।









