सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औं वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज भदौ ३१ गते बुधबार बसेको ५२१औं सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०८२/८३ को वितरण योग्य मुनाफाबाट २०८३ आषाढ मसान्तको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजारको ३.८० प्रतिशतले हुने ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२० प्रतिशतले हुने रु ३ लाख १० हजार रुपैयाँ सहित जम्मा लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।
२०६४ साल बैशाख ७ गतेबाट कारोवार सञ्चालन गरि विगत २० वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । बैंकको २० वर्षको औषत लाभांश दर १०.०८ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर ९.२४ प्रतिशत रहेको छ ।









