नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त

३१ भाद्र २०८३, बुधबार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थशास्त्री तथा विकास रणनीतिकार डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ । उनले बिहीबारदेखि कार्यभार सम्हाल्ने एफएनसीसीआईले जनाएको छ ।

एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठले डा. तिवारीको नियुक्तिले महासंघको संस्थागत क्षमता र नीतिगत पैरवीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

श्रेष्ठले नेपालको आर्थिक प्रणालीबारे गहिरो ज्ञान, अन्तर्राष्ट्रिय अनुभव तथा निजी क्षेत्रको पैरवीमा लामो अनुभव भएका तिवारीको नेतृत्व अहिलेको महत्वपूर्ण समयमा उपयोगी हुने बताए । उनको नेतृत्वमा नीतिगत पैरवीलाई थप प्रभावकारी बनाउँदै सुधारका एजेन्डा कार्यान्वयन र नेपाली उद्यमलाई विश्व प्रतिस्पर्धी बनाउन योगदान पुग्ने श्रेष्ठको भनाइ छ ।

डा. तिवारी यसअघि पनि एफएनसीसीआईसँग जोडिएका थिए । उनले सन् २०१८ देखि २०१९ सम्म महासंघको सचिवालयमा कार्यवाहक महानिर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए ।

करिब २५ वर्षको व्यावसायिक अनुभव भएका तिवारीले समष्टिगत आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी क्षेत्र सहकार्यका क्षेत्रमा काम गरेका छन् । उनले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका बहुपक्षीय संस्था तथा विकास साझेदार संस्थामा कार्यकारी तथा परामर्शदाताका रूपमा काम गरिसकेका छन् ।

पछिल्लो समय उनी यूएसएआईडीको ‘टायर नेपाल’ परियोजनामा निजी क्षेत्र एकीकरण निर्देशकका रूपमा कार्यरत थिए । त्यसअघि उनले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) का महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वरिष्ठ प्राविधिक विज्ञ तथा नेपाल–जर्मन उद्योग वाणिज्य संघका रणनीतिक सल्लाहकारका रूपमा जिम्मेवारी सम्हालेका थिए ।

तिवारी नेपाल आर्थिक संघका मानार्थ महासचिव, नर्वेको फिल डा. जान–उ. सान्डाल इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान फेलो तथा त्रिभुवन विश्वविद्यालयको सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचारविरोधी अध्ययन विभागका प्राध्यापकसमेत हुन् ।

पत्रकारिताबाट व्यावसायिक यात्रा सुरु गरेका तिवारीले कान्तिपुर मिडिया ग्रुप, द हिमालयन टाइम्स र स्पेस टाइम टुडेजस्ता राष्ट्रिय सञ्चारमाध्यममा वरिष्ठ आर्थिक पत्रकारका रूपमा समेत काम गरेका थिए ।

नेपालमा संरचित सार्वजनिक–निजी संवादको अभ्यास विकासमा पनि तिवारीले भूमिका खेलेका छन् । उनले आईएफसीअन्तर्गतको उच्चस्तरीय नेपाल बिजनेस फोरम व्यवस्थापन गरेका थिए । साथै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिट्टा) र औद्योगिक व्यवसाय ऐनलगायत महत्वपूर्ण आर्थिक कानुन निर्माणमा समेत योगदान गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*