भोटेकोशी बाढी अपडेटः हालसम्म १ हजार ४०९ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजेसम्म १ हजार ४०९ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४०७ जनाको शव फेला परेको हो भने २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३७ वटा शव माटो मुनी व्यवस्थापन गरिएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९१४ गरी कुल ३ हजार २०० वटा डिएनए नमुना सङ्कलन भएको छ । साथै पहिचान नभएको १ हजार ३६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जनाएको छ ।
नेपाल प्रहरीका अनुसार हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ३ जना बाढी प्रभावित व्यक्तिहरूलाई राखिएको छ ।










