सरकारको दुई महिनाको हिसाब: खर्च २ खर्ब, राजस्व १ खर्ब ९० अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो वार्षिक बजेटको ९.४१ प्रतिशत हो ।
सरकारले चालु शीर्षकमा सबैभन्दा बढी बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएकोमा भदौ मसान्तसम्म एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको ९.६ प्रतिशत हो ।
पुँजीगत खर्च भने निकै न्यून देखिएको छ । पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएकोमा भदौ मसान्तसम्म सात अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो वार्षिक विनियोजनको १.७८ प्रतिशत हो ।
त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको १६.५९ प्रतिशत हो ।
सरकारको खर्चको तुलनामा आम्दानी भने कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म कुल राजस्व संकलन एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो वार्षिक राजस्व लक्ष्यको ११.५८ प्रतिशत हो । यस अवधिमा सरकारको खर्च आम्दानीभन्दा करिब नौ अर्ब ७२ करोड रुपैयाँ बढी भएको छ ।
कर राजस्वतर्फ चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । भदौ मसान्तसम्म एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ । यो वार्षिक लक्ष्यको १२.२९ प्रतिशत हो ।
गैरकर राजस्वतर्फ एक खर्ब ७७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ उठेको छ । यो वार्षिक लक्ष्यको ६.९ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ । भदौ मसान्तसम्ममा यस्तो अनुदान पाँच अर्ब ५३ करोड रुपैयाँ प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो वार्षिक लक्ष्यको ८.९६ प्रतिशत हो ।










