सरकारको पहलले शेयर बजारमा सुधारः बढ्दै कारोबार, अझै यी हुन् चुनौती !

१ आश्विन २०८३, बिहीबार १५:०३

काठमाडौँ । लामो समयदेखि दबाबमा रहेको नेपाली शेयर बजारमा आज झिनो सुधार देखिएको छ । अघिल्लो कारोबार दिन भारी गिरावट आएको बजार आज केही सम्हालिए पनि समग्र लगानीकर्ताको मनोबल भने अझै बलियो बन्न सकेको देखिँदैन । अर्थ मन्त्रालयले शेयर बजारमा सुधार र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले २१ बुँदे राहत तथा सुधार प्याकेज सार्वजनिक गरेको अवस्थामा पनि बजारले तत्काल सकारात्मक प्रतिक्रिया नदिनुलाई बजार सहभागीले चासोका साथ हेरेका छन्् । मन्त्रिपरिषद्बाट पुँजीगत लाभकर घटाउने विषय पारित भएपछि केही सकारात्मक संकेत देखिए पनि सूचकमा सामान्य सुधार देखिएको हो ।

नयाँ सरकार गठनपछि लगातार सुस्त रहेको बजारलाई चलायमान बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै २१ बुँदे प्याकेज अघि सारेका छन्। बजारको संरचनागत समस्या सम्बोधन गर्ने, लगानीकर्ताको मनोबल बढाउने तथा पूँजी बजारलाई थप व्यवस्थित र लगानीमैत्री बनाउने उद्देश्यले ल्याइएका यस्ता नीतिगत पहलले तत्कालभन्दा पनि क्रमिक प्रभाव पार्न सक्ने देखिन्छ । यसअघि पनि सरकारले विभिन्न समयमा शेयर बजार सुधारका कार्यक्रम ल्याउँदै आएको छ भने नेपाल राष्ट्र बैंकले मौद्रिक तथा नियामकीय व्यवस्थामार्फत बजारमा तरलता र कर्जासम्बन्धी सहजता ल्याउने प्रयास गरेको छ । तर, नीतिगत परिवर्तन हुँदैमा बजार तत्काल उकालो लाग्ने अवस्था नरहेको पछिल्ला कारोबारले देखाएका छन् । बजारमा वास्तविक माग सिर्जना हुन, लगानीकर्ताको जोखिम लिने क्षमता बढ्न र भविष्यप्रतिको विश्वास बलियो बन्न समय लाग्ने भएकाले अहिलेको सुधारलाई पनि त्यसैको प्रारम्भिक संकेतका रूपमा हेर्नुपर्ने अवस्था छ ।

यद्यपि, बजारमा सबै लगानीकर्ताको धारणा निराशाजनक भने छैन । पछिल्लो गिरावटलाई कतिपय लगानीकर्ताले नयाँ प्रवेश वा क्रमशः लगानी बढाउने अवसरका रूपमा हेरिरहेका छन्। लामो समयदेखि मूल्यमा दबाब परेको अवस्थामा वित्तीय अवस्था, आम्दानी, व्यवस्थापन, व्यवसायको सम्भावना र मूल्यांकन हेरेर बलिया कम्पनी छनोट गर्न सकिने धारणा पनि बजारमा छ।

अर्कोतर्फ, शेयर बजारमा लाभांश सिजन सुरु भइसकेकाले कम्पनीहरूको वित्तीय प्रदर्शन र प्रस्तावित प्रतिफल पनि लगानीकर्ताको निर्णयमा महत्वपूर्ण बन्न थालेको छ । विभिन्न सूचीकृत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा लाभांश प्रस्ताव गर्न थाले पनि कतिपय कम्पनीको लाभांश अपेक्षाभन्दा कम देखिँदा बजारमा उल्लेख्य उत्साह सिर्जना हुन सकेको छैन । लामो समयदेखि कमजोर बजारमा रहेका लगानीकर्ताले कम्पनीबाट तुलनात्मक रूपमा आकर्षक प्रतिफलको अपेक्षा गरे पनि लाभांश घोषणाले त्यो अपेक्षाअनुसारको मनोबल निर्माण गर्न नसकेको अवस्था छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६२४.३६ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा सुधार देखिएको छ । आज इन्भेष्टमेन्ट समूह र अन्य समूहको शेयर मूल्य ओरालो लागेको हो ।

बिहिबार १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । आज १६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*