काठमाडौंमा ग्यासको मूल्य घट्यो, अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन ग्यास उद्योग तथा विक्रेतालाई आग्रह गरेको छ।
संघले बिहीबार जारी गरेको सूचनामार्फत आगामी असोज २ गते शुक्रबारदेखि लागू हुने गरी निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै ग्यास बिक्री वितरण गर्न आग्रह गरेको हो।
यसअघि गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको केही खण्ड कटान भएर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्तिमा समस्या भएको थियो। त्यसपछि उपत्यकामा ग्यास बजारीकरण गरिरहेका उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगमा सिलिन्डर भरी वैकल्पिक मार्गबाट ग्यास काठमाडौं ल्याउँदै आएका थिए।
सडक अवरुद्ध भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लाग्ने १ सय ५ रुपैयाँ ३८ पैसा थप गरी अधिकतम २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न आग्रह गरेको थियो।
यसबीच अवरुद्ध सडकखण्डमा वैकल्पिक मार्ग निर्माण गरी यातायात सञ्चालनमा आएसँगै ग्यास बोकेका बुलेटहरू नियमित रूपमा काठमाडौं आउन थालेका छन्। वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेकाले थप ढुवानी शुल्क लिन आवश्यक नरहेको संघले जनाएको छ।
संघका अध्यक्ष दिवान चन्दद्वारा जारी सूचनामा काठमाडौं उपत्यकामा ग्यास बजारीकरण गर्ने सबै उद्योगीलाई निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढीमा बिक्री नगर्न तथा आफ्ना विक्रेतालाई समेत सोहीअनुसार जानकारी गराउन आग्रह गरिएको छ।










