त्रिविको ५२औँ दीक्षान्त समारोहका लागि आवेदन खुल्यो, सातै प्रदेशमा केन्द्र

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीबाट अनलाइन आवेदन आह्वान गरेको छ।
कार्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन सक्नेछन्। सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थी पनि आवेदनका लागि योग्य हुनेछन्।
योग्य विद्यार्थीले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
यसपटक विद्यार्थीको सहजताका लागि त्रिभुवन विश्वविद्यालयले सातै प्रदेशमा दीक्षान्त समारोहका लागि केन्द्र निर्धारण गरेको छ। बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्र तोकिएको छ। विद्यार्थीले अनलाइन फाराम भर्दा आफू सहभागी हुने केन्द्रसमेत छनोट गर्नुपर्नेछ।
एमफिल, पीएचडी तथा टपर र पदक प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेशलाई केन्द्र तोकिएको छ।
दीक्षान्त समारोहमा सहभागी हुन तहअनुसार फरक शुल्क निर्धारण गरिएको छ। स्नातक तहका विद्यार्थीका लागि ३ हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि ३ हजार ५ सय रुपैयाँ र विद्यावारिधिका लागि ४ हजार रुपैयाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क तोकिएको छ।
यस्तै, गाउन र स्कार्फका लागि सबै तहका विद्यार्थीले २ हजार ५ सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। उक्त रकममध्ये ५ सय रुपैयाँ मर्मतसम्भार खर्चबापत कट्टा गरी बाँकी रकम विद्यार्थीको बैंक खातामा फिर्ता गरिनेछ।
विद्यार्थीले बढीमा दुई जनासम्म अभिभावकलाई दीक्षान्त समारोहमा सहभागी गराउन सक्नेछन्। प्रत्येक अभिभावकका लागि ४ सय रुपैयाँका दरले फिर्ता नहुने शुल्क लाग्नेछ।
त्रिभुवन विश्वविद्यालयको लोगो अंकित प्रमाणपत्र राख्ने फोल्डर लिन चाहने विद्यार्थीले थप ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
कार्यालयका अनुसार दीक्षान्त समारोहसँग सम्बन्धित सम्पूर्ण शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमार्फत अनलाइन बैंकिङबाट मात्र दाखिला गर्न सकिनेछ।










