एकैदिन टाटाका १५० गाडी डेलिभरी

काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्वकर्मा पूजाको अवसरमा देशभर एकैदिन १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।
विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा लोकप्रिय रहँदै आएको छ। यही अवसरलाई लक्षित गर्दै सिप्रदीले देशभर रहेका आफ्ना २२ वटा सोरुममार्फत ग्राहकलाई गाडी हस्तान्तरण गरेको जनाएको हो।
हस्तान्तरण गरिएका गाडीमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडल न्यू टियागो ईभी, न्यू पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभीलगायत छन्। यससँगै विभिन्न इन्टरनल कम्बसन इन्जिन (आईसीई) मोडलका गाडीसमेत ग्राहकलाई उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
सिप्रदीका अनुसार हस्तान्तरण गरिएका अधिकांश गाडी यस वर्ष आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शोका क्रममा सार्वजनिक तथा बुकिङ गरिएका थिए। प्रदर्शनीका क्रममा ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि आवश्यक प्रक्रिया पूरा गरी विश्वकर्मा पूजाको अवसरमा ती गाडी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढिरहेका बेला टाटाका नयाँ पुस्ताका ईभी मोडलको उल्लेख्य डेलिभरी भएको हो। विशेषगरी न्यू टियागो ईभी, न्यू पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभीप्रति ग्राहकको आकर्षण बढिरहेको सिप्रदीको दाबी छ।
एकैदिन देशभर ठूलो संख्यामा गाडी हस्तान्तरण हुनुलाई कम्पनीले नेपाली बजारमा टाटा मोटर्सका सवारीसाधनप्रति कायम ग्राहकको विश्वास र रुचिको संकेतका रूपमा व्याख्या गरेको छ। आधुनिक प्रविधि, सुरक्षा, सुविधा तथा फरक आवश्यकताअनुकूलका सवारीसाधन उपलब्ध गराउँदै आएको सिप्रदीले जनाएको छ।
विश्वकर्मा पूजाको धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै यस दिन नयाँ गाडी घर भित्र्याउने परम्परा रहेकाले डेलिभरी कार्यक्रम विशेष बनेको कम्पनीको भनाइ छ। ग्राहकको आवश्यकता र बजारको मागअनुसार टाटा मोटर्सका नयाँ मोडल नेपाली बजारमा निरन्तर भित्र्याउँदै जाने सिप्रदीले जनाएको छ।











