लाभांश पारित गर्न निफ्राले असोज २३ गते बोलायो साधारणसभा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो आठौं वार्षिक साधारणसभा असोज २३ गते बोलाएको छ। बैंकको सञ्चालक समितिको १९३औं बैठकको निर्णयअनुसार सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजे शुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।
सभामा बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पेस हुनेछ। प्रस्तावित लाभांश रकम १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ रहेको छ जसमा लाभांश करसमेत समावेश छ। साधारण सभाबाट प्रस्ताव पारित भएपछि कम्पनी ऐन, २०६३ बमोजिम अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ।
त्यस्तै सर्वसाधारण शेयरधनी समूहबाट निर्वाचित दुई सञ्चालकमध्ये लिमा अधिकारी आचार्यले राजीनामा दिएपछि उनको स्थानमा सञ्चालक समितिको निर्णयबाट नियुक्त अनिता रायमाझीको नियुक्ति बाँकी कार्यकालका लागि अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमार्फत कारोबार भई बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा नामसारी भएका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा मतदान गर्न पाउनेछन्।











