सूर्यकुण्ड हाइड्रोले बोलायो साधारणसभा, यस्ता छन् प्रस्तावहरू

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले २०औँ वार्षिक साधारण सभा असोज २३ गते गर्ने भएको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो ।
साधारण सभा असोज २३ गते शुक्रबार दिउँसो २ बजे काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा हुनेछ । सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणलगायतका प्रस्तावमा छलफल गरी स्वीकृत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै विशेष प्रस्तावअन्तर्गत कम्पनीका प्रबन्ध सञ्चालकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव रहेको छ । कम्पनीको नियमावलीको नियम २३ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालयलगायत नियमनकारी निकायमा कम्पनी अद्यावधिक गर्ने क्रममा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, थपघट वा परिमार्जन गर्नुपर्ने भएमा सोसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल हुनेछ ।
कम्पनीले नियमावलीबमोजिम संस्थापक शेयरधनीको तर्फबाट तीन जना र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत राखेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । त्यसअघि अर्थात् असोज १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन् ।











