पुँजी बजारले लय समातेको संकेतः कारोबार समेत बढ्दै, के छन् बढ्ने आधार ?

काठमाडौँ । शेयर बजार लगातार दोस्रो दिन उकालो लागेको छ । नयाँ सरकार गठनपछि निरन्तर दबाबमा रहेको बजार पछिल्लो समय सरकारले अघि सारेका सुधारात्मक कदमसँगै सकारात्मक दिशातर्फ फर्किन थालेको देखिएको छ । अर्थ मन्त्रालयले शेयर बजारमा सुधार ल्याउँदै लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले सार्वजनिक गरेको २१ बुँदे राहत तथा सुधार प्याकेजपछि बजारमा पहिलो दिन उच्च सुधार देखिएको थियो । त्यसपछि एक दिन सामान्य दबाब आए पनि मन्त्रिपरिषद्बाट पुँजीगत लाभकर घटाउने विषय पारित भएसँगै पछिल्ला दुई कारोबारमा बजारले पुनः सकारात्मक गति समातेको हो ।
सरकारले शेयर बजार सुधारका लागि अघि सारेका नीतिगत कदमसँगै लगानीकर्ताको मनोबलसमेत क्रमशः बढ्न थालेको देखिन्छ । कारोबार समय बढाउने, सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा देखिएको त्रास कम गर्ने तथा बजार सुधारका लागि नीतिगत पहल अघि बढाउने सरकारी कदमले लगानीकर्तालाई केही हदसम्म आश्वस्त बनाएको छ । पछिल्लो गिरावटलाई कतिपय लगानीकर्ताले बजारमा नयाँ प्रवेश गर्ने वा लगानी क्रमशः बढाउने अवसरका रूपमा समेत हेर्न थालेका छन् ।
लामो समयदेखि मूल्यमा दबाब परेको अवस्थामा वित्तीय अवस्था, आम्दानी, व्यवस्थापन, व्यवसायको सम्भावना र कम्पनीको मूल्यांकन हेरेर बलिया कम्पनी छनोट गर्न सकिने अवस्था रहेको लगानीकर्ताको धारणा छ । अर्कोतर्फ, शेयर बजारमा लाभांश सिजनसमेत सुरु भइसकेको छ। सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा लाभांश प्रस्ताव गर्न थालेका छन्। यद्यपि, कतिपय कम्पनीको प्रस्तावित लाभांश अपेक्षाभन्दा कम देखिँदा बजारमा त्यसअनुसारको उत्साह भने देखिन सकेको छैन ।
नियामक तथा सरकारले बजार सुधारका लागि आवश्यक नीतिगत पहल अघि बढाइरहेका बेला लगानीकर्ताको ध्यान पनि विस्तारै बजारतर्फ फर्किन थालेको छ। पछिल्लो समय देखिएको सकारात्मक संकेतले बजारमा लगानीकर्ताको विश्वास क्रमशः पुनःस्थापित हुने अपेक्षा गरिएको छ। नीतिगत सुधार प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएमा शेयर बजारले आगामी दिनमा थप सकारात्मक यात्रा तय गर्ने विश्वास लगानीकर्ताले व्यक्त गर्न थालेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.८५ अकंले बढेर २६४७.२२ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको २ करोड १२ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।
आज ११ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । यसदिन फाइनान्स समूह र अन्य समूहका शेयर मूल्य भने घटेको हो ।
शुक्रबार १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












