भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, कुनमा को ?

बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य तथा अनुभवी व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको जानकारी दिएका छन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापाको नाम सिफारिस गरिएको छ। यस्तै, संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचन सिफारिस भएका छन्।
यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गर्ने निर्णय भएको छ।
सिफारिस गरिएका राजदूतहरूको नाम सरकारले अब संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) लिन नाम पठाइनेछ। सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ।











