साउनमै वाणिज्य बैंकले कमाए ८ अर्ब ७३ करोड, नबिलको नाफा सर्वाधिक

२ आश्विन २०८३, शुक्रबार १७:०९

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै पौने ९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । साउन महिनासम्म २० वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यो रकम गत आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा बैंकहरूले कमाएको ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँको तुलनामा ४ दशमलव २३ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १३ बैंकको नाफा बढेको छ भने ७ बैंकको नाफा घटेको छ । नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ । नबिलले साउनसम्म ८८ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ७१ करोड ६४ लाख रुपैयाँ थियो । यसअनुसार नबिलको नाफा २३ दशमलव २८ प्रतिशतले बढेको हो ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष साउनमा बैंकको नाफा ७८ करोड ४५ लाख रुपैयाँ थियो । बैंकको नाफा ३ दशमलव ७० प्रतिशतले बढेको छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको ६३ करोड ४२ लाख रुपैयाँको तुलनामा बैंकको नाफा १५ दशमलव ८० प्रतिशतले बढेको हो ।

कुमारी बैंकले ५४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष साउनमा बैंकको नाफा ४९ करोड २४ लाख रुपैयाँ थियो । कुमारीको नाफा ११ दशमलव १० प्रतिशतले बढेको छ । राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । तर, गत वर्षको ५५ करोड ८३ लाख रुपैयाँको तुलनामा यस बैंकको नाफा ६ दशमलव १५ प्रतिशतले घटेको छ ।

प्राइम बैंकले ५२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको ५० करोड ५० लाख रुपैयाँको तुलनामा यसको नाफा ३ दशमलव ३४ प्रतिशतले बढेको छ । लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको ३९ करोड ४५ लाख रुपैयाँको तुलनामा बैंकको नाफा २५ दशमलव ९३ प्रतिशतले बढेको हो ।

एभरेस्ट बैंकले ४९ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष साउनमा बैंकको नाफा ४८ करोड ३९ लाख रुपैयाँ थियो । यसअनुसार नाफा १ दशमलव ७१ प्रतिशतले बढेको छ । एनएमबी बैंकले ४७ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको ४६ करोड ६८ लाख रुपैयाँको तुलनामा बैंकको नाफा २ दशमलव ६३ प्रतिशतले बढेको छ ।

सिद्धार्थ बैंकले ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको ४० करोड १४ लाख रुपैयाँको तुलनामा यसको नाफा ७ दशमलव ०१ प्रतिशतले बढेको छ । कृषि विकास बैंकले ३८ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष साउनमा कृषि विकास बैंकको नाफा ३ लाख ७५ हजार रुपैयाँ मात्र थियो । यसअनुसार बैंकको नाफा १० हजार २५४ दशमलव ४० प्रतिशतले बढेको देखिन्छ ।

सानिमा बैंकले ३८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको ३९ करोड ३ लाख रुपैयाँको तुलनामा बैंकको नाफा १ दशमलव ९१ प्रतिशतले घटेको छ । प्रभु बैंकले ३२ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको ३० करोड २३ लाख रुपैयाँको तुलनामा यसको नाफा ८ दशमलव ९५ प्रतिशतले बढेको हो ।

सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबिआई बैंक रहेको छ । बैंकले साउनसम्म १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*