चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा, शोधनान्तर स्थिति पनि ९० अर्बमाथि

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ६२ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.६३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १अर्ब ४ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.१ अर्ब १ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.६९ करोड रहेको थियो ।
यता, शोधनान्तर स्थिति ९० अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.८९ अर्ब ३० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५९ करोडले बचतमा रहेको छ ।











