महँगीले थिचिँदै सर्वसाधारण, मुद्रास्फीति पुग्यो ५.९६ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार गत वर्षको सोही महिनामा मुद्रास्फीति १.६८ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत रहेको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको मूल्य ४.८० प्रतिशतले बढेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातको मूल्य १३.१७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
क्षेत्रगत रूपमा हेर्दा साउनमा ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकाङ्क ६.१८ प्रतिशत र सहरी क्षेत्रको ५.८८ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ६.९४ प्रतिशत रहेको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत रहेको छ । यस्तै, काठमाडौं उपत्यकामा ४.८१ प्रतिशत, तराईमा ६.६४ प्रतिशत, पहाडमा ५.९५ प्रतिशत र हिमाली क्षेत्रमा ५.१० प्रतिशत मुद्रास्फीति रहेको छ ।
यसैगरी, साउनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.२७ प्रतिशत पुगेको छ। गत वर्षको सोही महिनामा थोक मुद्रास्फीति २.३७ प्रतिशत थियो ।
समीक्षा अवधिमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ०.०५ प्रतिशतले ऋणात्मक रहेको छ । मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति १३.६२ प्रतिशत र पुँजीगत वस्तुको ६.४५ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्य ४.८९ प्रतिशतले बढेको छ ।











