बौद्धस्तुपाको अखण्डदीपबारे विवाद, नक्कली बोर्ड राखेर भ्रम फैलाएको गुठीको आरोप

काठमाडौं । बौद्धनाथ मेलम्ची घ्याङ गुठीले बौद्धनाथ महाचैत्यमा अनादिकालदेखि प्रज्वलित हुँदै आएको भनिएको अखण्डदीप निभेको र त्यसलाई विधिपूर्वक पुनः प्रज्वलित गर्न रोकिएको बताएको छ । गुठीले व्यवस्थापन समितिसँग आबद्ध व्यक्तिहरूले अर्कै बत्तीलाई अखण्डदीपका रूपमा प्रस्तुत गर्दै भ्रम सिर्जना गरेको आरोपसमेत लगाएको छ ।
गुठीका मुख्य धर्मगुरु चिनियाँ लामा भूपति बज्र लामाले भक्तहरूले बाल्ने नियमित बत्तीलाई अखण्डदीपका रूपमा प्रस्तुत गरिएको बताएका छन् । उनका अनुसार उक्त बत्तीलाई अखण्डदीपका रूपमा देखाउन अखण्डदीप लेखिएको फ्लेक्स बोर्डसमेत राखिएको छ ।
गुठीले बौद्धनाथ महाचैत्यको व्यवस्थापनसँग सम्बन्धित विषयलाई लिएर उच्च अदालत पाटनमा मुद्दा विचाराधीन रहेको जनाएको छ । अदालतमा सुनुवाइ चलिरहेको अवस्थामा अखण्डदीप बलिरहेको देखाउने प्रयास गरिएको गुठीको आरोप छ । गुठीले यस्तो गतिविधिले विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिएको दाबी गरेको छ ।
गुठीका अनुसार अखण्डदीप निभेको अवस्थामा धार्मिक विधिअनुसार क्षमापूजा गरी पहिलेकै स्थानमा पुनः प्रज्वलित गर्नुपर्ने हुन्छ । तर त्यसका लागि समेत व्यवधान सिर्जना गरिएको उसको भनाइ छ । गुठीले नियमित रूपमा भक्तहरूले बाल्ने बत्ती र परम्परागत अखण्डदीप फरक रहेको स्पष्ट पारेको छ ।
यसअघि पनि बौद्धनाथ क्षेत्रको धार्मिक गतिविधि तथा गुठीको जग्गासम्बन्धी विषयमा विवाद भएको गुठीले जनाएको छ । यससम्बन्धी पुरानो मुद्दामा उच्च अदालत पाटनबाट २०७५ जेठ २४ गते धार्मिक गतिविधि नरोक्नेसम्बन्धी फैसला भएको गुठीको भनाइ छ । त्यसपछि पनि विभिन्न सरकारी निकायबाट अनधिकृत संरचना तथा अतिक्रमण रोक्न पत्राचार भएको गुठीले जनाएको छ ।
हाल विचाराधीन मुद्दामा अन्तरिम आदेशका विषयमा छलफलका लागि अदालतले मिति तोकेको र पुरानो मुद्दाको सक्कल मिसिल झिकाउने आदेशसमेत भएको गुठीले जनाएको छ । यही समयमा अखण्डदीप बलिरहेको भन्ने सन्देश दिने गरी बोर्ड राखिएको भन्दै गुठीले आपत्ति जनाएको हो ।











