असोज ८ देखि १२ गतेसम्म नेपालमा हुँदैछ भारी वर्षा, यी क्षेत्रमा खतराको घण्टी

काठमाडौँ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी असोज ८ देखि १२ गतेसम्म नेपालमा मनसुनी गतिविधि तीव्र बन्ने सम्भावना देखिएको छ। विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले उक्त अवधिमा देशका केही क्षेत्रमा अत्यधिक वर्षाको जोखिम औँल्याएपछि विपद् व्यवस्थापनका लागि पूर्वतयारी र उच्च सतर्कता अपनाउन सुझाव दिइएको हो ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा विनोद पोखरेलका अनुसार आगामी केही दिनमा विकसित हुने मौसमी प्रणालीको प्रभाव नेपालमा विशेषगरी असोज ८ देखि १२ गतेसम्म मनसुनी सक्रियता ह्वात्तै बढ्ने सम्भावना देखिएको छ। विभिन्न अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान मोडेलहरूको विश्लेषणमा केही स्थानमा ४०० देखि ७४१ मिलिमिटरसम्म वर्षा हुनसक्ने संकेत देखिएको छ। यद्यपि, यस्तो वर्षा देशभर एकै किसिमले नभई निश्चित क्षेत्रमा केन्द्रित हुने सम्भावना रहेको बताइएको छ।
मौसम पूर्वानुमानमा असोज १० गते वर्षाको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ। यही कारण असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा सकेसम्म नगर्न वा स्थगित गर्न सुझाव दिइएको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा सडक अवरोध, पहिरो र आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखेर यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्नुपर्ने देखिएको छ।

तर अहिले नै सम्भावित वर्षाको मात्रा वा त्यसबाट हुने क्षतिको निश्चित आकलन गर्न सकिने अवस्था भने छैन। मौसम प्रणालीको विकास, गति र दिशामा हुने परिवर्तनसँगै यसको प्रभाव पनि बदलिन सक्छ। विगतमा शक्तिशाली देखिएका मौसमी प्रणाली नेपाल प्रवेश गर्ने क्रममा कमजोर भएका उदाहरणसमेत रहेकाले पछिल्लो पूर्वानुमानलाई निरन्तर अद्यावधिक गर्दै जानुपर्ने मौसमविद्हरूको भनाइ छ।
बंगालको खाडीमा विकसित भइरहेको प्रणाली अहिले उत्तर थाइल्यान्ड र म्यानमार आसपासबाट अघि बढिरहेको छ। भारतीय मौसम विभागका अनुसार यसको प्रभावले आगामी ४८ घण्टाभित्र उत्तर अण्डमान सागरमा न्यूनचापीय क्षेत्र बन्ने र त्यसपछि मध्य बंगालको खाडीतर्फ सर्ने सम्भावना छ। सेप्टेम्बर २२ सम्ममा उक्त प्रणाली डिप्रेसन वा गहिरो डिप्रेसनमा परिणत हुनसक्ने अनुमान गरिएको छ।
प्रणाली थप शक्तिशाली हुँदै चक्रवातमा परिणत भएमा उत्तर हिन्द महासागर क्षेत्रमा सन् २०२६ को पहिलो उष्णकटिबन्धीय चक्रवात बन्नेछ। विश्व मौसम संगठनको नामकरण सूचीअनुसार त्यसको नाम ‘अर्नब’ रहनेछ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्रणालीको अवस्था, दिशा र गति परिवर्तनसँगै नेपालमा पर्न सक्ने प्रभावबारे थप स्पष्ट हुने भएकाले आधिकारिक मौसम बुलेटिनलाई आधार मानेर आवश्यक निर्णय लिन आग्रह गरिएको छ।











