गुड्दागुडड्दै सडकमा आगो लागेर खरानी भयो फोटोन ईभी, सुरक्षामाथि प्रश्न

काठमाडौं । आइतबार कोहलपुरबाट कैलालीको लागि हिडेको ईभी माइक्रो बिहान ६ः५० बजे राजमार्गमै आगलागी हुँदा जलेर खरानी भएको छ । राजमार्गमै गुडिरहेको अवस्थामा ईभीमा एक्कासि आगो लागेपछि विद्युतीय सवारीको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।
कोहलपुरबाट छुटेको फोटोन ईभी भ्यान बर्दियाको बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित ५ नम्बर चोकमा महेन्द्र राजमार्गमै गुडिरहेको अवस्थामा आगलागी भएको हो । प्रहरीका अनुसार सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको उक्त ईभी भ्यान कोहलपुरबाट कैलालीतर्फ जाँदै गर्दा बिहान करिब ६ः५० बजे एक्कासि आगलागी भएको थियो । घटनाका बेला गाडीमा चालक र सहचालक मात्रै सवार रहेको प्रारम्भिक विवरण छ । उनीहरू भने सकुशल रहेका छन् ।
बर्दियाका प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार राजमार्गमा गुडिरहेको अवस्थामै गाडीमा आगो लागेको हो । बीमापोष्टसँग कुरा गर्दै एसपी पौडेलले भने, ‘बिहान ६ः५० मै सडकमा गुडिरहेको अवस्थामा गाडी आगलागी भएको देखिएको छ । तर, मानवीय क्षति भने हुन पाएन । आगो त नियन्त्रणमा लियौँ तर गाडी पूरै क्षति भएको छ । चाइनिज कम्पनी फोटोन ब्रान्डको गाडी भन्ने खुल्न आएको छ ।’
प्रहरीका अनुसार आगलागीको प्रारम्भिक कारणका रूपमा सवारीको विद्युतीय प्रणालीमा आएको खराबीलाई आशंका गरिएको छ । ‘आगलागीको घटना लगत्तै हाम्रो टोली घटनास्थलमा पुगेको थियो । आगो नियन्त्रणमा लियौँ । प्रारम्भिक अनुमानअनुसार गाडीमा वायरिङ सर्ट सर्किट हुँदा आगलागी भएको हो कि भन्ने बुझिएको छ । अब अन्य कुरा मेकानिकले चेकजाँच गरेपछि थाहा होला’ पौडेलले भने ।
आगलागीका कारण ईभी भ्यान पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ । गाडीभित्र रहेका कागजपत्र तथा नगदसमेत आगलागीमा जलेर नष्ट भएको बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनका अनुसार गाडीमा रहेको करिब ४२ हजार रुपैयाँ नगद समेत आगलागीमा जलेर नष्ट भएको छ ।
घटनास्थलमा पुगेको दमकल र सुरक्षाकर्मीको प्रयासपछि करिब बिहान ८ बजे गाडीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बोहराले जानकारी दिए । उनले भने, ‘८ः०० बजे गाडीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो । उक्त हाईस फोटोन कम्पनीको रहेको भन्ने बुझिएको छ ।’
राजमार्गमा गुडिरहेको अवस्थामा एक्कासि आगलागी भएर यात्रुवाहक ईभी पूर्ण रूपमा जलेर नष्ट भएको घटनाले विद्युतीय सवारीको सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ । विशेषगरी ईभीमा प्रयोग हुने वायरिङ, ब्याट्री व्यवस्थापन प्रणाली, विद्युतीय सर्किट तथा अन्य सुरक्षा उपकरणको विश्वसनीयतामाथि शंका पैदा भएको हो ।

फोटोनका गाडीहरू नेपालमा भित्रिन थालेको केही वर्ष मात्रै भएको छ । यसबीच नेपाली बजारमा यी सवारीको प्रयोग बढ्दै गए पनि विद्युतीय प्रणाली, ब्रेकिङ सिस्टम, ब्याट्री म्यानेजमेन्ट तथा सुरक्षासँग सम्बन्धित उपकरणको गुणस्तरबारे प्रयोगकर्ताका तहबाट विभिन्न प्रश्न तथा अनुभवहरू सार्वजनिक हुँदै आएका छन् ।

तस्बिरः जिल्ला प्रहरी कार्यालय बर्दिया











