डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित, यस्तो बन्यो टिम

काठमाडौँ । डोटी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व वीरेन्द्र शाहले सम्हाल्ने भएका छन्। आइतबार सम्पन्न निर्वाचनबाट शाह अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदको प्रतिस्पर्धामा शाहले २८० मत हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी दीपकबहादुर खड्काले २११ मत पाए। त्यस्तै प्रेम भण्डारीले १९७ र स्वतन्त्र उम्मेदवार इन्द्रबहादुर कुँवर (आईजङ्ग) ले ९२ मत प्राप्त गरे।
शाहसँगै उनको समूहबाट संघका विभिन्न पदमा चार जना निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा दीर्घबहादुर साउँद, उद्योग उपाध्यक्षमा रमेश बोहरा र कोषाध्यक्षमा प्रकाशबहादुर रावल विजयी भए।
वाणिज्य उपाध्यक्षमा भने प्रेम भण्डारी समूहका लालबहादुर कठायत निर्वाचित भएका छन्।
महासचिवमा रोशन कठायत निर्वाचित हुँदा सचिव पदमा दीपक कलेलले बाजी मारे। कलेलले २६२ मत ल्याएर नन्दनसिंह कार्कीलाई ६ मतको अन्तरले पछि पारे। सचिव पदका अर्की प्रत्याशी पवित्रा कुमारी कुँवरले २३५ मत प्राप्त गरिन्।
संघको १२ सदस्यीय कार्यसमिति भने निर्वाचनअघि नै निर्विरोध चयन भइसकेको थियो। मनोनयन दर्ताकै क्रममा सदस्य पदका उम्मेदवारहरू निर्विरोध भएका हुन्। निर्विरोध निर्वाचित सदस्यहरूमध्ये शाह समूहबाट सात जना रहेका छन्।











