आज देशभर पानी पर्नेः चार प्रदेशमा भारी वर्षा, भोलिदेखि मौसम सफा हुँदै जाने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (आइतबार) अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव नेपालमा परेको छ।
हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्नेछ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमको तराईका धेरै स्थानमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशीको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षाको सम्भावना छ।
आज गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति सुदूरपश्चिमका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
असोज १२ गते सोमबार भने वर्षाको प्रभाव केही कम हुने देखिएको छ। देशभर आंशिक बादल लाग्ने र हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। सोमबार राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
असोज १३ गते मंगलबार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भने मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मंगलबार राति तराईमा मौसम मुख्यतया सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ।










