प्राकृतिक विपत्तिको दोहोरो मारमा निर्जीवन बीमा कम्पनी, ४० अर्बमाथिको दाबी आउने प्रक्षेपण

काठमाडौं । नेपालको निर्जीवन बीमा व्यवसाय समय समयमा उत्पन्न प्राकृतिक विपत्ति र सामाजिक राजनीतिक घटनाको दोहोरो जोखिममा पर्ने गरेकोछ । भोटेकेशी बाढी पछिको एक महिनापछि अविरल बर्षाको कारण घटनाले बीमा दाबी बढ्ने अपेक्षा गरिएको छ।
२५ अर्ब ८७ करोडको बीमा दाबी पारम्भिक दाबीको अनुमान गरेको बीमा कम्पनीहरुमा पुनः दाबी दोब्बरले बढ्ने अनुमान बीमा कम्पनीहरुले गरेका छन् । यता बीमक संघको तथ्यांक हेर्ने हो भने १५ अर्बको हाराहारीमा मात्रै रहेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रीले यो बर्ष अविरल बर्षाको कारण ४० अर्ब माथिको बीमा दाबी पर्ने अनुमान गरेका छन् । २५ अर्बको पारम्भिक तथ्यांक आईसकेको छ । अविरल बर्षाको कारण पुनः बीमा दाबी थप्ने उनको भनाई छ।
यता बीमा अधिकारीहरुले पनि ४० अर्बमाथिकै बीमा दाबी पर्न सक्ने अनुमान गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुमा दाबीको प्रभाव दोस्रो बजारमा सूचीकृत निर्जीवन बीमा कम्पनीको मूल्यमा पर्ने गरेको छ। दाबी बढेपछि कम्पनीको नाफामा संकुचित हुने चिन्ता लगानीकर्ताहरुमा हुनु स्वभाविक हो । कम्पनीहरुको नाफा, नगद प्रवाह र पुनर्बीमामार्फत जोखिम व्यवस्थापनको क्षमतामाथि लगानीकर्ताको चासो बढेकोछ। जसको मनोविज्ञानको असर दोस्रो बजारमा पनि देखिएको छ।
पछिल्ला समय निर्जीवन बीमा कम्पनीलाई परेको ठूलो दायित्वमा जेनजी आन्दोलनलाई पनि लिन सकिन्छ । नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनका क्रममा निर्जीवन बीमा कम्पनीहरूमा तीन हजार २५५ दाबीबाट करिब २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी परेको थियो। तर जेनजी आन्दोलनको दाबी पूर्ण रूपमा व्यवस्थापन भइनसक्दै अर्को ठूलो प्राकृतिक विपत्ति थपिएको छ।
गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि भदौ १५ सम्म ५८३ वटा दाबीबाट २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको थियो। यसमध्ये इन्जिनियरिङ तथा ठेकेदार जोखिमअन्तर्गत मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी छ। अर्थात् यसपटकको ठूलो जोखिम जलविद्युत् र पूर्वाधार क्षेत्रमा केन्द्रित छ।
त्यस्तै, निरन्तर चारदिनदेखि परेको अविरल बर्षाको कारण बीमा कम्पनीहरुमा थप बीमा दाबी पर्ने अनुमान गरिएको छ । अविरल बर्षाको कारण तथ्यांक तत्काल लिन नसक्ने र फिल्डमा जान सक्ने अवस्था नरहेको बीमाकर्मीहरु बताँउछन् ।
बीमा कम्पनीले आफैले सम्पूर्ण जोखिम बहन गर्दैनन्। पुनर्बीमामार्फत ठूलो हिस्सा जोखिम हस्तान्तरण गरिएको हुन्छ। कुल दाबी र कम्पनीको खुद दायित्व फरक हुने भन्दै पुनर्बीमाका कारण कम्पनीहरूमा सम्पूर्ण भार नपर्ने कम्पनीहरुको भनाइछ ।










