बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु
११ आश्विन २०८३, आईतवार ११:४४

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार बिहान घरमाथिबाट अचानक खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विकसहित उनका तीन छोराको मृत्यु भएको हो ।
पहिरोमा परी श्यामकुमारीका १२ वर्षीय छोरा मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार बिहान करिब ४ देखि ५ बजेको समयमा घरमाथिबाट पहिरो खसेको थियो । पहिरोले घर पुरिएपछि उनीहरू चारै जनाको मृत्यु भएको हो ।










