नागढुंगा–मुग्लिन सडकमा पहिरोको वितण्डा, १० ठाउँमा अवरोध

काठमाडौँ । नागढुंगा–मुग्लिन सडकखण्डमा वर्षासँगै ठाउँ–ठाउँमा पहिरो खस्दा यात्रामा समस्या देखिएको छ। सडक आयोजनाका अनुसार आइतबार बिहानसम्म सडकको विभिन्न १० स्थानमा पहिरो खसेको हो।
पहिरोका कारण कृष्णभिर, ज्यामिरेघाट, चौकीभिर, घोप्टेभिर र सिमलधारातर्फको सडकमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। ती स्थानमा दुवैतर्फका सवारी साधन रोकिने अवस्था रहेको आयोजनाले जनाएको छ।
यस्तै, शीतलबजार, गोमती खोला, हुग्दी खोला–जवाङ खोला क्षेत्र, फिस्लिङ, चुम्लिङटार र धारापानी आसपास पहिरो खसे पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
लगातारको वर्षाका कारण तत्काल सडक सफा गर्ने काममा कठिनाइ भइरहेको आयोजनाले जनाएको छ। वर्षा थामिएपछि आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरेर पहिरो हटाउने तयारी गरिएको छ।
दशैं नजिकिँदै जाँदा राजधानीबाट बाहिरिने यात्रुको चाप बढ्ने समय भएकाले सडक अवरोधले यात्रु थप प्रभावित हुने देखिएको छ। मुख्य राजमार्गमै पहिरोको जोखिम बढेपछि लामो दूरीका यात्रुहरूलाई यात्रा थप अनिश्चित बन्ने अवस्था देखिएको छ।










