नख्खु कारागारबाट दीपक भट्ट सिन्धुपाल्चोक सरुवा

काठमाडौँ । नख्खु कारागारमा थुनामा रहेका दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। कारागार व्यवस्थापन विभागले शनिबार पठाएको पत्रका आधारमा नख्खु कारागार प्रशासनले भट्टलाई सोही दिन साँझ सिन्धुपाल्चोक पठाएको हो।
भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा मुद्दा चलिरहेको छ। उच्च अदालत पाटन र विशेष अदालत काठमाडौंमा उनका मुद्दा विचाराधीन छन्। प्रारम्भिक सुनुवाइपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनलाई नख्खु कारागारमा राखिएको थियो।
विभागले स्थानान्तरणका लागि पठाएको पत्रमा भट्टको आचरण ‘सामान्य’ रहेको उल्लेख छ। तर, कारागार व्यवस्थापन विभागका अनुसार सामान्य अवस्थामा कैदीबन्दीले दिएको निवेदनका आधारमा सरुवा हुने भए पनि भट्टको हकमा भने माथिल्लो तहबाटै निर्णय भएर पत्र आएको हो।











