गगन थापाको उद्घोष : ‘मतभेद दबाउने होइन, एउटै मञ्चमा राख्ने हो’

१८ आश्विन २०८३, आईतवार १८:४०

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई नेतृत्व चयन गर्ने कार्यक्रमका रूपमा मात्रै नलिन आग्रह गरेका छन्। खुलामञ्चमा महाधिवेशन आयोजना गर्नुको अर्थ कांग्रेसले लोकतान्त्रिक संवाद, मतभेद र जनताको प्रश्नका लागि खुला ठाउँको आवश्यकता औँल्याउनु रहेको उनले बताएका छन्।

महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले यहीँबाट ठूला राजनीतिक दल र नेताहरूले आफ्नो राजनीतिक यात्रा अघि बढाएको बताए।

‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भने, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’

जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत खुलामञ्चबाट सम्बोधन गरेको स्मरण गर्दै थापाले फरक विचार र मतभेदलाई एउटै सार्वजनिक ठाउँमा ल्याएर संवाद गर्ने अवसर खुलामञ्चले दिएको बताए।

‘खुलामञ्चको एउटा विशेषता छ, यसले फरक मान्छेलाई एउटै सार्वजनिक ठाउँमा ल्याइदिन्छ। खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन। मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो खुलामञ्च,’ उनले भने।

उनले कांग्रेसको महाधिवेशनलाई केवल नयाँ नेतृत्व चयन गर्ने ‘इभेन्ट’ का रूपमा बुझ्न नहुने बताए। बीपी कोइरालाको पार्टीका रूपमा कांग्रेसले खुलामञ्चबाट केही सन्देश लिनुका साथै देशलाई केही संकल्प पनि दिनुपर्ने उनको भनाइ थियो।

थापाले नेपालमा विभिन्न तहमा थप ‘खुलामञ्च’ आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले संसद् र राजनीतिक दलभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।

‘पहिलो खुलामञ्च संसद्मा चाहिएको छ। संसद् खुला छैन। संसद् बन्द छ,’ उनले भने। प्रधानमन्त्रीले आफूलाई समर्थन गर्ने र नगर्ने सबै सांसदको गरिमालाई सम्मान गर्दै उनीहरूका प्रश्न र असहमतिलाई सुन्नुपर्ने वातावरण नबनेसम्म संसद् पूर्ण रूपमा खुला हुन नसक्ने उनको तर्क थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*