मौरी बीमा गर्न किसानको लागि कम्पनीको सर्त नै बाधक

१९ आश्विन २०८३, सोमबार १०:१६

काठमाडौं । कालिका नगरपालिका–६ का जगबहादुर पुन मौरीको बीमा गर्न चाहन्छन् । तर, बीमा कम्पनीले राखेका सर्तका कारण उनी बिमा गर्ने कि नगर्ने भन्ने दोधारमा छन् ।

विसं २०७४ मा विषादीका कारण २० घार मौरी मरेपछि पुनले मौरीको बीमा गर्न खोजेका थिए । तर, बीमाले किसानले भोग्ने सबै जोखिम नसमेट्ने भएपछि उनले हालसम्म बीमा गर्न सकेका छैनन् ।

‘हामी बिमा गर्न चाहन्छौँ, तर क्षेत्र समेटिँदैन । बिमामा सीमित क्षेत्र मात्र छ, जसका कारण मौरीपालक किसानले चाहेर पनि बिमा गर्न सकिरहेका छैनन्,’ पुनले भने ।

गाडी दुर्घटना, चक्काजाम वा विषादी प्रयोगका कारण मौरीमा क्षति भएमा बिमाबापतको सुविधा नदिइने भएपछि किसान बिमाप्रति आकर्षित हुन नसकेको उनले बताए । मौरीपालक किसान समस्यामा पर्दा बिमाले काम नगर्ने भएकाले यसतर्फ आकर्षण घट्दै गएको उनको भनाइ छ ।

मौरीपालक किसान विष्णुप्रसाद भुसालले बैंकबाट कृषि ऋण लिएका किसानबाहेक अन्यको बिमा गर्न कम्पनीहरूले नमान्ने गरेको गुनासो गरे । बिमा गरिसकेका किसानले समेत दाबीबापतको रकम सहज रूपमा पाउन नसकेको उनले बताए ।

‘विसं २०८० मा मैले बिमा गरेको थिएँ । त्यतिखेर मेरो ११० घार मौरी मरेका थिए । तर, छ घारको मात्र बिमा कम्पनीले भुक्तानी गर्‍यो, त्यो पनि पाउन छ महिना लाग्यो,’ भुसालले भने ।

बैंकको ऋण नभएका किसानको बिमा गर्न कम्पनीहरूले नमान्ने र बिमा गरिसकेका किसानलाई पनि विभिन्न क्षेत्र समावेश नभएको कारण देखाउँदै दाबी भुक्तानी दिन अस्वीकार गर्ने गरेको उनले बताए ।

कृषि विकास कार्यालय, चितवनका प्रमुख झलकनाथ कँडेलले मौरीपालक किसानको मौरी बिमाका लागि राज्यले ८० प्रतिशत रकम अनुदान भुक्तानी गर्ने व्यवस्था गरेको बताए । तर, हालसम्म दाबी भुक्तानी माग गर्न कुनै किसान नआएको उनले बताए ।

बिमा गर्दा किसानलाई फाइदा हुने भए पनि जानकारीको अभाव र प्रक्रियागत कारणले किसानको सहभागिता कम भएको कँडेलले बताए । बिमापछि मौरीमा समस्या देखिएमा भुक्तानी लिने प्रक्रिया झन्झटिलो भएकाले पनि किसानले बिमाप्रति खासै ध्यान नदिएको हुनसक्ने उनले बताए ।

कँडेलका अनुसार चितवनमा हाल ४५० किसानले करिब १९ हजार ५०० घार ‘मेलिफेरा’ जातको मौरी पाल्दै आएका छन् ।

बागमती प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर श्रेष्ठले मौरीको बिमा प्रक्रिया सहज बनाउन प्रदेश सरकार सहजीकरण गर्न तयार रहेको बताए ।

मौरी बिमातर्फ किसानको आकर्षण बढ्न नसक्नुका कारण पहिचान गर्दै समस्या समाधानतर्फ अघि बढ्ने उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*