बालेन सरकारको ६ महिनामा २६ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कार्यान्वयनमा भने चुनौती

२१ आश्विन २०८३, बुधबार ०९:५९

काठमाडौँ । वर्तमान सरकार गठन भएको ६ महिना पूरा हुँदा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढेको देखिए पनि त्यसलाई वास्तविक लगानी र उत्पादनमा रूपान्तरण गर्ने चुनौती कायमै छ । चैतदेखि भदौसम्म मात्रै २६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । चैतमा १ अर्ब १२ करोड ९२ लाख रुपैयाँबाट सुरु भएको प्रतिबद्धता वैशाखमा करिब ३ अर्ब, जेठमा २ अर्ब २९ करोड, असारमा १० अर्ब ३८ करोड, साउनमा ४ अर्ब ७७ करोड २८ लाख र भदौमा ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढी प्रतिबद्धता आएको छ ।

सरकार गठनपछि लगानीकर्ताको मनोबलमा केही सुधार देखिनुमा लगानी स्वीकृतिको प्रक्रिया सहज बनाइनुलाई मुख्य कारण मानिएको छ । विशेषगरी स्वचालित प्रणालीमार्फत हुने लगानी स्वीकृतिले साना तथा प्रविधिमा आधारित लगानीकर्तालाई नेपालमा प्रवेश गर्न सहज बनाएको छ । अघिल्लो अन्तरिम सरकारले १०२ प्रकारका व्यवसायमा स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो, जसलाई वर्तमान सरकारले निरन्तरता दिएको छ । गत आर्थिक वर्षमा दर्ता भएका १ हजार १ सय १६ उद्योगमध्ये ८ सय ९७ उद्योग यही प्रणालीमार्फत आएका थिए । यद्यपि, स्वीकृत प्रतिबद्धता बढ्दैमा त्यस बराबरको रकम नेपाल भित्रिएर उत्पादनमा प्रयोग भएको मान्न नसकिने भएकाले वास्तविक पुँजी प्रवाहको अवस्था अझै महत्वपूर्ण रहेको छ ।

अर्थविद्हरूले पछिल्ला कानुनी सुधारले लगानी वातावरणप्रति सकारात्मक संकेत दिएको बताएका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधनसहित लगानीसँग सम्बन्धित अन्य कानुनमा पनि सुधारको तयारी भइरहेकाले निजी क्षेत्रको विश्वास क्रमशः बढ्न सक्ने उनीहरूको भनाइ छ ।

समग्र आर्थिक वर्षको तथ्याङ्कले भने उत्साहजनक वृद्धिको तस्वीर देखाउँदैन । आव २०८२/८३ मा नेपालले ५८ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको थियो, जुन अघिल्लो वर्षको करिब ६५ अर्ब रुपैयाँभन्दा कम हो । रकमका आधारमा कृषि क्षेत्रमा सबैभन्दा धेरै २३ अर्ब १८ करोड रुपैयाँ प्रतिबद्धता आएको छ भने पर्यटनमा १३ अर्ब ९९ करोड, सेवामा ४ अर्ब ९१ करोड, उत्पादनमा ३ अर्ब ९१ करोड र सूचना प्रविधिमा २ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । अहिलेसम्म वैदेशिक लगानीबाट ५ हजार ८ सयभन्दा बढी उद्योग दर्ता भइसकेका छन् भने स्वीकृत विदेशी लगानीको कुल रकम ६ खर्ब ८६ अर्ब रुपैयाँभन्दा बढी पुगेको विभागको तथ्याङ्क छ ।

प्रत्यक्ष वैदेशिक लगानीतर्फ केही सुधारका संकेत देखिए पनि सरकारी तहमा परिचालन हुने वैदेशिक सहायता र ऋणको अवस्था भने कमजोर छ । चालु आर्थिक वर्षमा सरकारले ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असोज १९ गतेसम्म ५ अर्ब ८२ करोड ८ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको ९.४३ प्रतिशत हो । बाँकी अवधिमा लक्ष्य पूरा गर्न ठूलो रकम जुटाउनुपर्ने अवस्था छ । अघिल्लो आर्थिक वर्षमा पनि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदानको लक्ष्य राखिए पनि ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ मात्रै प्राप्त भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*