आन्तरिक हवाई बजारमा हिस्सा बढाउँदै यती एयर, एकै वर्ष ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौँ । नेपालको आन्तरिक हवाई बजारमा लामो समयदेखि स्थापित यती एयरलाइन्सले पछिल्लो समय आफ्नो वित्तीय तथा व्यावसायिक अवस्था क्रमशः सुदृढ बनाउँदै लगेको छ। यात्रु सेवा, बजार उपस्थिति, पुँजी संरचना र ऋण व्यवस्थापनमा सुधार गर्दै आएको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४७ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ।
यो अघिल्लो आर्थिक वर्षको ५ अर्ब ३८ करोड ४० लाख रुपैयाँको तुलनामा १.६९ प्रतिशत अर्थात् ९ करोड १० लाख रुपैयाँ बढी हो। यती एयरलाइन्सको सञ्चालन आम्दानी पछिल्ला वर्षमा समग्रमा निरन्तर बढ्दै आएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको हो।
सन् २००२ मा स्थापना भएको यती एयरलाइन्स नेपालका पुराना र स्थापित आन्तरिक वायुसेवा प्रदायकमध्ये एक हो। दुई दशकभन्दा लामो निरन्तर सञ्चालन अनुभव बोकेको कम्पनीले नेपाली आन्तरिक हवाई बजारमा आफ्नो उपस्थितिलाई कायम राख्दै आएको छ। आर्थिक वर्ष २०२५/२६ मा यात्रु ओसारपसारका आधारमा करिब २२ देखि २३ प्रतिशत बजार हिस्सासहित कम्पनी नेपालको दोस्रो ठूलो आन्तरिक हवाई सेवा प्रदायकका रूपमा स्थापित भएको छ।
कम्पनीसँग हाल एटीआर ७२ का सातवटा विमान छन्। तीमध्ये छवटा आफ्नै स्वामित्वमा रहेका छन् भने एउटा विमान भाडामा लिएर सञ्चालन भइरहेको छ। विमान बेडाको विस्तार र तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने विमानको प्रयोगले कम्पनीको सञ्चालन क्षमता तथा लागत व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ।
यती एयरलाइन्स पर्यटन तथा हवाई उड्डयन क्षेत्रमा सक्रिय ठूलो व्यावसायिक समूह ‘यती वल्र्ड’ को अभिन्न हिस्सा हो। यती वल्र्डअन्तर्गत एक दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन्। बलियो प्रवद्र्धक समूहको साथ पाएको कम्पनीमा एसियन लाइफ इन्स्योरेन्स लिमिटेड प्रमुख संस्थागत प्रवद्र्धकका रूपमा रहेको छ। एसियन लाइफ इन्स्योरेन्सको यती एयरलाइन्समा २९.८५ प्रतिशत सेयर स्वामित्व रहेको छ। त्यस्तै, ल्हाक्पा सोनाम शेर्पाको १५.९६ प्रतिशत र चन्दा शेर्पाको १२.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ।
कम्पनीको नेतृत्व पर्यटन क्षेत्रमा पाँच दशकभन्दा बढीको अनुभव भएका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले गरिरहेका छन्। सञ्चालक समितिमा चन्दा शेर्पा प्रबन्ध निर्देशक तथा नोर्बु छिरिङ शेर्पा नायब प्रबन्ध निर्देशकका रूपमा रहेका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा चार्टर्ड एकाउन्टेन्ट सुभाष सापकोटाले नेतृत्व गरिरहेका छन्।
यती एयरलाइन्सको व्यावसायिक यात्रामा चुनौतीपूर्ण चरण पनि आएका छन्। १५ जनवरी २०२३ मा यती एयरलाइन्सको ९एन–एएनसी विमान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा परेपछि कम्पनीको यात्रु धारणा र बजार हिस्सामा दबाब परेको थियो। दुर्घटनापछि केही समय यात्रु अन्य हवाई सेवा प्रदायकतर्फ आकर्षित भएका थिए। त्यससँगै समग्र आर्थिक गतिविधिमा आएको सुस्तता तथा हवाई टिकटमा मूल्य अभिवृद्धि कर लागू भएका कारण पनि कम्पनीको बजार हिस्सामा प्रभाव परेको थियो।
यसको परिणामस्वरूप आर्थिक वर्ष २०७७/७८ मा करिब २३ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा करिब २१ प्रतिशत रहेको कम्पनीको बजार हिस्सा आर्थिक वर्ष २०७९/८० मा करिब १७ प्रतिशतमा झरेको थियो। तर, कम्पनीले त्यसपछिको अवधिमा उल्लेख्य पुनरुत्थान गर्न सफल भएको छ। आर्थिक वर्ष २०८०/८१ मा दुईवटा नयाँ विमान बेडामा थपिनु तथा पर्यटन क्षेत्रमा पुनः सुधार आउनुले कम्पनीको बजार उपस्थिति विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। त्यसयता यात्रु संख्या तथा बजार हिस्सामा क्रमशः सुधार हुँदै आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले आन्तरिक हवाई बजारमा करिब २२ देखि २३ प्रतिशत हिस्सा ओगटेको जनाएको छ।
कम्पनीको वित्तीय अवस्थाको अर्को महत्वपूर्ण पक्ष ऋणभारमा आएको उल्लेख्य कमी हो। यती एयरलाइन्सले निजी प्लेसमेन्टमार्फत प्रिमियमसहित २ अर्ब २७ करोड रुपैयाँ थप पुँजी परिचालन गरेको थियो। उक्त रकमको प्रमुख हिस्सा ऋण घटाउन तथा कम्पनीका केही विमानका इन्जिनको पूर्ण मर्मतसम्भारमा प्रयोग गरिएको थियो। यसले कम्पनीको ऋण दायित्व घटाउनुका साथै विमान सञ्चालनका लागि उपलब्धता बढाउन सहयोग गरेको छ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ७ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ। यसमध्ये ६ अर्ब ३८ करोड ९१ लाख रुपैयाँ दीर्घकालीन ऋण, १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ अल्पकालीन ऋण तथा ५५ करोड १९ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन प्रकृतिको ऋण रहेको कम्पनीले जनाएको छ।
२०२६ जुलाईको मध्यसम्म कम्पनीको समग्र ऋण–पुँजी अनुपात १.४९ गुणामा झरेको छ। यो अनुपात आर्थिक वर्ष २०२४ मा ४.४५ गुणा र आर्थिक वर्ष २०२५ मा ३.१० गुणा थियो। त्यसैगरी, ऋण–स्वपुँजी अनुपात १.४७ गुणामा सुधार भएको छ, जुन आर्थिक वर्ष २०२४ मा ४.१७ गुणा र आर्थिक वर्ष २०२५ मा २.९६ गुणा थियो।
कम्पनीको कुल दायित्व–कुल मूर्त स्वपुँजी अनुपात पनि निरन्तर सुधार हुँदै आर्थिक वर्ष २०२६ मा १.६० गुणामा झरेको छ। यो अनुपात आर्थिक वर्ष २०२५ मा ३.३८ गुणा र आर्थिक वर्ष २०२४ मा ४.६० गुणा थियो। ऋणभारमा आएको यो कमीले कम्पनीको वित्तीय जोखिम व्यवस्थापन र भविष्यको सञ्चालन क्षमतामा सकारात्मक आधार तयार गरेको छ।
पुँजी संरचना बलियो बन्दै गएसँगै कम्पनीको ऋण तिर्ने क्षमतामा समेत सुधार आएको छ। आर्थिक वर्ष २०२६ मा कम्पनीको ब्याज भुक्तानी क्षमता अनुपात ३.५४ गुणा पुगेको छ, जुन आर्थिक वर्ष २०२५ मा २.९८ गुणा र आर्थिक वर्ष २०२४ मा १.७१ गुणा थियो। त्यस्तै, ऋण सेवा भुक्तानी क्षमता अनुपात पनि आर्थिक वर्ष २०२५ को १.१३ गुणाबाट बढेर आर्थिक वर्ष २०२६ मा १.८८ गुणा पुगेको छ।
कम्पनीले आगामी दिनमा करिब २ अर्ब १० करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत थप पुँजी परिचालन गर्ने योजना बनाएको छ। प्रस्तावित आईपीओबाट रकम प्राप्त भएपछि कम्पनीको ऋण–पुँजी संरचना अझ सुधार हुने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा ६४ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको यती एयरलाइन्सको नाफा आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको नाफा घट्नुको प्रमुख कारण विदेशी मुद्रामा रहेको सम्पूर्ण ऋणलाई नेपाली रुपैयाँमा आधारित ऋणमा रूपान्तरण गर्दा देखिएको करिब ३२ करोड ७० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा विनिमय घाटा हो। नियामकीय निर्देशिकामा भएको परिवर्तनपछि कम्पनीले विदेशी मुद्रामा रहेको ऋणलाई नेपाली रुपैयाँमा आधारित ऋणमा रूपान्तरण गर्न पाएको थियो। ऋण रूपान्तरणका क्रममा देखिएको विदेशी मुद्रा विनिमय घाटा मुख्यतः एकपटक मात्र देखापर्ने प्रकृतिको रहेको कम्पनीले जनाएको छ।











