पुरुष बीमितको नाममा सुत्केरी र सिजरियनको दाबी, स्वास्थ्य बीमा बोर्डको प्रणालीमै फर्जी दाबी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अनलाइन प्रणालीमा पुरुष बीमितको नाममा सुत्केरी तथा सिजरियन सेक्सन ९सी–सेक्सन० सेवा लिएको भन्दै दाबी पेस भएको विवरण फेला परेको छ। बीमितको लिङ्ग पुरुष हुँदाहुँदै उनको नाममा बच्चा जन्मिएको र सिजरियन गरिएको विवरणसहित बीमा भुक्तानीका लागि दाबी पेस भएको देखिएको हो।
प्राप्त विवरणअनुसार एनएसएचआई नम्बर ०६४२६८८८८ रहेका श्रवण कुमार पौडेलको नाममा सिजरियन सेक्सनमार्फत बच्चा जन्मिएको भन्दै दाबी पेस भएको देखिन्छ। पौडेल २०८० माघ ३ गतेदेखि ६ गतेसम्म अस्पतालमा भर्ना भएको र सो अवधिमा सिजरियन सेक्सन डेलिभरी सेवा लिएको विवरण प्रणालीमा उल्लेख छ।
पौडेलको नाममा उक्त सेवाबापत १७ हजार ५४५ रुपैयाँ दाबी गरिएको देखिएको छ। उनले नगर अस्पताल विर्तामोडलगायत स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा लिएको विवरणसमेत प्रणालीमा देखिन्छ।
त्यस्तै, एनएसएचआई नम्बर ०२२५९८८८८ रहेका ३६ वर्षीय श्यामसुन्दर नकर्मीको नाममा पनि सामान्य सुत्केरी सेवा लिएको भन्दै दाबी पेस भएको भेटिएको छ। दाबी नम्बर ३००५०८८८८ अन्तर्गत २०७५ भदौ ८ देखि १० गतेसम्म अस्पताल भर्ना भएको र सामान्य सुत्केरी सेवा लिएको विवरण प्रणालीमा उल्लेख छ।
नकर्मीको नाममा सामान्य सुत्केरीबापत ५ हजार रुपैयाँ र अस्पताल भर्ना शुल्कबापत २ हजार रुपैयाँ गरी ७ हजार रुपैयाँ दाबी गरिएको थियो। जसमध्ये बोर्डले ५ हजार रुपैयाँ स्वीकृत गरेको प्रणालीमा देखिन्छ।
बोर्डको मूल्याङ्कनअनुसार सामान्य सुत्केरी सेवाबापतको ५ हजार रुपैयाँ दाबी स्वीकृत भएको हो। तर, अस्पतालले दाबी गरेको २ हजार रुपैयाँ बराबरको दैनिक अस्पताल भर्ना शुल्क भने प्रसूति सेवाकै प्याकेजमा समावेश हुने भएकाले अस्वीकृत गरिएको देखिन्छ।
मापदण्डविपरीत दाबी भएको बोर्डको स्वीकारोक्ति
पुरुष बीमितको नाममा सुत्केरी तथा सिजरियन सेवा दाबी भएको विषयमा स्वास्थ्य बीमा बोर्डले समेत यस्तो दाबी मापदण्डविपरीत देखिएको जनाएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले पुरुष बीमितको नाममा सुत्केरी सेवाको दाबी भएको विषयमा बोर्ड सचेत रहेको र यसबारे सूक्ष्म अनुसन्धान भइरहेको बताए।
उनका अनुसार नकर्मी र पौडेलको नाममा देखिएको दाबी मापदण्डविपरीत देखिन्छ। पुरुष बीमितको आफ्नै पत्नी सुत्केरी भएको भए पनि पत्नीले लिएको प्रसूति सेवा पुरुष बीमितको नामबाट दाबी गर्न नमिल्ने बोर्डको भनाइ छ।
मल्लले यस्ता विषयमा सम्बन्धित स्वास्थ्य संस्थासँग समेत आवश्यक जानकारी मागेर अनुसन्धान गर्ने गरिएको बताए।
उनका अनुसार २०८१ सालमा बोर्डको सर्भर क्र्यास भएकाले त्यसअघिका केही विवरण प्राप्त गर्न कठिनाइसमेत रहेको छ। ‘यस्ता विषयको सूक्ष्म अनुसन्धान गरिरहेका छौँ। कतिपय अस्पताललाई प्रश्न पनि सोध्छौँ,’ उनले भने।
नकर्मीले पाटन अस्पताललगायत स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा लिएको विवरण देखिन्छ। हाल उनको स्वास्थ्य बीमा कार्ड निष्क्रिय रहेको जनाइएको छ।
यसैबीच, स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गर्न बाँकी दाबीमध्ये ९ अर्ब ७३ करोड २९ लाख २९ हजार ७७८ रुपैयाँ ६० पैसा भुक्तानी गरेको छ।
बोर्डले चालु आर्थिक वर्ष २०८३र०८४ को स्वीकृत बजेट तथा निकासा प्राप्त रकमबाट २०८३ असोज ७ गते उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाएको जनाएको छ।
गत आर्थिक वर्ष २०८२र०८३ को भुक्तानी गर्न बाँकी दाबी रकम १४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको थियो। तर, रुजु तथा जाँचबुझपछि ११ अर्ब ५३ करोड १५ लाख ९२ हजार ६० रुपैयाँ ३९ पैसा मात्र भुक्तानीयोग्य रकमका रूपमा स्वीकृत भएको बोर्डले जनाएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त ११ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी निकासामध्ये बोर्डले यसअघि नै ९ अर्ब २३ करोड ८५ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको थियो।
बाँकी स्वीकृत रकममध्ये असार महिनाको पेस्की बाँकी रहेका, बैंक खाता नम्बर उपलब्ध नभएका तथा निर्णयअनुसार रोक्का राखिएका केही संस्थाको रकम घटाएर र बोर्डको नियमानुसार २ प्रतिशत कोष कट्टा गरी ९ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिएको हो।











