भारतीय रिजर्भ बैंकले बढायो रेपो दर, ५.५० प्रतिशत पुग्यो

२१ आश्विन २०८३, बुधबार ११:५२

काठमाडौँ ।  भारतीय रिजर्भ बैंक (आरबीआई) ले बढ्दो मुद्रास्फीति जोखिम, विश्वव्यापी आर्थिक अवस्था र घरेलु अर्थतन्त्रको बलियो वृद्धिबीच नीतिगत रेपो दर २५ आधार अङ्कले बढाएर ५.५० प्रतिशत पुर्‍याएको छ।

आरबीआईका गभर्नर सञ्जय मल्होत्राले बृहत् आर्थिक तथा वित्तीय अवस्था र आगामी आर्थिक दृष्टिकोणको मूल्याङ्कनपछि मौद्रिक नीति समितिले (एमपीसी) रेपो दर बढाउने निर्णय सर्वसम्मतिले गरेको जानकारी दिए। यसअघि अगस्टमा समितिले रेपो दर ५.२५ प्रतिशतमा यथावत् राख्दै मौद्रिक नीतिको दृष्टिकोण तटस्थ राखेको थियो।

रेपो दर वृद्धिसँगै स्थायी निक्षेप सुविधा दर ५.२५ प्रतिशत तथा मार्जिनल स्थायी सुविधा र बैंक दर ५.७५ प्रतिशत कायम गरिएको छ। एमपीसीले भने मौद्रिक नीतिको दृष्टिकोणलाई बहुमतका आधारमा थप कडाइतर्फ परिवर्तन गरेको छ।

भारतको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति अगस्टमा ४.८२ प्रतिशत पुगेको थियो। कमजोर मनसुन तथा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुग्न सक्ने जोखिमका कारण आगामी दिनमा मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने आरबीआईको आकलन छ।

यता, भारतको अर्थतन्त्र आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासिकमा ७.८ प्रतिशतले विस्तार भएको छ। घरेलु माग, उत्पादन र सेवा क्षेत्रमा आर्थिक गतिविधि बलियो देखिएको आरबीआईले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*