आगामी तीन दिन धान नकाट्न मौसम विज्ञान विभागको आग्रह
२१ आश्विन २०८३, बुधबार १२:४४

काठमाडौं । आज असोज २१ गतेदेखि पर्सी २३ गतेसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जानाकारी दिएको छ।
साथै विभागले मधेश प्रदेश बाहेकका स्थानमा बासिन्दाले धानबाली भित्र्याउने तयारी गरेको भएमा आगामी तीन दिन धान नकाट्न पनि विभागले विशेष आग्रह गरेको छ। खोला तथा खहरेहरुमा अकस्मात बाढी आउन सक्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।
आज, भोलि र पर्सी दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ।











