सौर्य सिमेन्टको चुनढुंगा ढुवानी रोकिँदा उदयपुरमा सडकमा उत्रिए ट्रिपर व्यवसायी

२१ आश्विन २०८३, बुधबार १६:४८

काठमाडौँ ।  उदयपुरको कटारीमा सौर्य सिमेन्टका लागि चुनढुंगा ढुवानी रोकिएपछि ट्रिपर व्यवसायीहरूले प्रदर्शन गर्दै सिद्धिचरण लोकमार्ग अवरुद्ध गरेका छन्।

कटारी नगरपालिका–४ स्थित सिम्ले बजार क्षेत्रमा व्यवसायीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरूले एउटा टिपरसमेत सडकमा तेर्स्याएर राखेपछि लोकमार्गमा केही समय सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीले प्रदर्शनकारीलाई हटाएर सडक सञ्चालनमा ल्याएको छ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सौर्य सिमेन्टको चुनढुंगा उत्खनन तथा ढुवानीको विषयलाई लिएर स्थानीय र टिपर व्यवसायीबीच देखिएको विवादका कारण सडक अवरुद्ध भएको हो। चुनढुंगा ढुवानीमा रोक लगाइएपछि त्यसको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका हुन्।

सौर्य सिमेन्टले कटारी नगरपालिका–८ गाल्टार क्षेत्रमा चुनढुंगा उत्खनन गर्दै आएको छ। तर, उत्खनन क्षेत्र आसपासका स्थानीय तथा ढुवानी हुने सडक प्रयोग हुने बस्तीका बासिन्दाले उत्खनन र ढुवानीप्रति असहमति जनाउँदै आएका छन्।

कटारी नगरपालिका–७ स्थित मर्जेतपुर टोल विकास संस्थाले सौर्य सिमेन्टको चुनढुंगा ढुवानीका लागि स्थानीय बस्ती हुँदै जाने सडक प्रयोग नगर्न माग गरेको छ। स्थानीयको विरोधपछि चुनढुंगा ढुवानी प्रभावित भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*