रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको प्रस्तावित नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो पाँचौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २३ गते बुक क्लोज गर्ने भएकाले आज असोज २२ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।
कम्पनीको सञ्चालक समितिले करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
कम्पनीको पाँचौं वार्षिक साधारण सभा आगामी कात्तिक १७ गते ललितपुरको कुपण्डोलस्थित ब्याङ्क्वेट प्राइभेट लिमिटेडमा बिहान १० बजे बस्नेछ। सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र नगद लाभांश स्वीकृत गर्ने प्रस्तावमाथि छलफल गर्नेछ।
यस्तै सहायक कम्पनी स्थापना गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने तथा सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभामा रहेको छ।
विशेष प्रस्तावतर्फ आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन, सम्बन्धित कारोबार तथा खर्च अनुमोदन, दूधपोखरी चेपे हाइड्रोपावरको ऋणका लागि राष्ट्रिय वाणिज्य बैंकलाई दिइएको संस्थागत जमानत अनुमोदन तथा मैवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण वा बिक्री गर्ने प्रस्ताव रहेको छ।
त्यसैले आजसम्म कम्पनीको शेयर खरिद गरी कायम हुने शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।











