न्यायाधीश मुछिएको घटनाको निष्पक्ष छानबिन गर्न सर्वाेच्च अदालतको आग्रह

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश बिचौलियासँग साँठगाँठ गरेको आरोपमा मुछिएपछि सर्वोच्च अदालतले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सोमबार (कात्तिक १६) बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो ।
बैठकले सार्वजनिक भएका विषयमा कुनै पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष ढंगले संविधान तथा कानुनबमोजिम छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, छानबिनबाट प्राप्त निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि अनुरोध गरेको छ ।
सर्वोच्च अदालतले छानबिन तथा अनुसन्धानका क्रममा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न र आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ । त्यस्तै छानबिनको निष्कर्ष आउनुअघि नै कसैलाई दोषी ठहर गर्ने वा न्याय सम्पादनको काममा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचारले आम नागरिक तथा सेवाग्राहीमा भ्रम र नकारात्मक प्रभाव पार्न नहुने सर्वोच्चको भनाइ छ । बैठकले सार्वजनिक भएका समाचारबाट विचलित नभई नियमित न्यायिक काममा सक्रिय रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायाधीश तथा कर्मचारीलाई समेत आग्रह गरेको छ ।












