बजारमा भारी गिरावटः बैंक तथा वित्तीय संस्थाको शेयर राताम्य, प्रवेश गर्ने मौका कि बाहिरिने समय ?

१६ कार्तिक २०८३, सोमबार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा भारी गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको बजारले नयाँ साताको पहिलो दिन पनि राताम्य यात्रालाई निरन्तरता दिएको हो । पछिल्लो समय निरन्तर उकालो लागेको बजारमा यस साता भने करेक्सन देखिएको छ । बजारमा आएको गिरावटसँगै लगानीकर्ताको मनोबलमा समेत केही असर परेको देखिन्छ ।

लगानीकर्ताहरूका अनुसार अघिल्ला साताहरूमा शेयर बजार लगातार बढेकाले अहिले स्वाभाविक करेक्सन देखिएको हो । बजारमा हुने यस्तो करेक्सनले दीर्घकालीन रूपमा बजारलाई थप दिगो र बलियो बनाउने उनीहरूको बुझाइ छ । बजार घट्दैमा आत्तिनुभन्दा करेक्सनको चरणलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको धारणा छ । यही कारण कतिपय लगानीकर्ताले अहिलेको अवस्थालाई शेयर बजारमा प्रवेश गर्ने उपयुक्त अवसरका रूपमा समेत हेरेका छन् ।

यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । तर, लाभांशको अपेक्षासहित लगानी गरेका शेयरधनीका लागि अधिकांश संस्थाको वित्तीय अवस्था अपेक्षाअनुसार सन्तोषजनक देखिएको छैन । वित्तीय विवरण र सम्भावित लाभांशको अवस्थाले लगानीकर्ताको अपेक्षा पूरा गर्न नसक्दा नयाँ लगानी गर्ने निर्णयमा उनीहरू केही हच्किएको कतिपयको बुझाइ छ । यसले पनि बजारमा खरिद चाप कमजोर बनाउन भूमिका खेलेको हुन सक्ने देखिन्छ ।

यद्यपि, शेयर बजारका लागि आवश्यक नीतिगत तथा वित्तीय वातावरण भने सकारात्मक बन्दै गएको छ । नियामक निकायहरूले शेयर बजारसम्बन्धी आवश्यक नीतिहरू अघि बढाएका छन् भने बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि न्यून बिन्दुमा रहेको छ । त्यसैगरी, अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जाको सीमा बढाएको अवस्था छ । न्यून ब्याजदर, कर्जा विस्तारको सम्भावना र नीतिगत सहजताले बजारमा लगानीकर्ताको उत्साह बढाउन सक्ने आधार तयार पारेको छ ।

तर, बजारमा अझै पनि ठूला लगानीकर्ताहरू पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन् । सरकारले पछिल्लो समय गरिरहेको धरपकड तथा शेयर बजारमा आउने सानो रकमको समेत स्रोत खोज्ने गतिविधिले लगानीकर्ताको मनोबल कमजोर बनाएको कतिपयको विश्लेषण छ । विशेषगरी लगानीको रकमको स्रोतसम्बन्धी अनिश्चितताले ठूला लगानीकर्तालाई थप सतर्क बनाएको देखिन्छ । बजारका आधारभूत सूचक र नीतिगत वातावरण सकारात्मक भए पनि लगानीकर्तामा विश्वासको वातावरण निर्माण हुन नसक्दा शेयर बजारले अपेक्षित गति लिन नसकेको विश्लेषण गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.६५ अकंले घटेर २६५७ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको १ करोड ९८ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १८ करोडको शेयर कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत समूहको शेयर मूल्य घटेको हो ।

सोमबार २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*