साउदी अरेबियाको रियादस्थित विमानस्थलमा हुथीको आक्रमण, ३०९ जना घाइते, तीन वटा जहाजमा क्षति

काठमाडौं । साउदी अरेबिया र हुथीबीच जारी युद्धको भयानक परिणाम साउदी विमानस्थलमा देखिएको छ । यमनका हुथी विद्रोहीहरुले हिजो राजधानी रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल प्रहार गरेका थिए । सो आक्रमणमा १२ जनाको निधन भएको छ । निधन हुनेहरुमा साउदी अरेबियन चार, बंगलादेशी दुई र एक एक जना अमेरिका, इजिष्ट, प्यालेस्टाइन, जोर्डन, सिरिया, सुडानका नागरिक रहेका छन् ।
घटनामा ३०९ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको साउदी ग्याजेटले जनाएको छ । घटनामा कम्तीमा तीन वटा जहाजमा क्षति पुगेको जनाइएको छ । थप क्षतिको विवरण संकलन भइरहेको साउदीको नागरिक उड्डयन मन्त्रालयलाई उध्रित गर्दै प्रकाशित समाचारमा जनाइएको छ । साउदी नागरिक उड्डयन कार्यालय गागाले घाइते मध्ये केही अवस्था गम्भिर रहेको समेत जनाएको छ । सो आधारमा मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । मृतक तथा घाइते सबै यात्रुहरु भएको हुनसक्ने जनाइएको छ ।
घटनापछि रियाद विमानस्थल बन्द गरिएको छ । हुथीले अमेरिकी र साउदीको प्रतिरक्षा प्रणालीलाई असफल पार्दै शनिबार भिषण मिसाइल हमला गरेको थियो । यमनमा साउदी अरबले लडाकु जहाजद्वारा भिषण हमला गर्दै स्थलमार्गबाट यमन सरकारी सेनाले हुथीलाई साँघुरो घेरा बनाउँदै गएको बेला गैर सैनिक स्थलमा हुथीले आक्रमण गरेको हो ।
शनिबारको आक्रमणपछि विश्वभर तरंग मच्चिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि हुथी विरुद्धको सैन्य कारवाहीमा सहभागी हुन दवाव बढिरहेको छ । यद्यपि निर्णय भने गरिसकेको अवस्था छैन । इरानको समर्थनमा रहेको हुथीसँग खतरनाक ब्यालेष्टिक मिसाइल, क्रुज मिसाइल तथा ड्रोन तथा अत्याधुनिक हतियार हजारौं तालिमप्राप्त सैनिक छन् ।
घाइते मध्ये नेपाली परेका छन् वा छैनन् खुल्न सकेको छैन ।











