रिलायबल नेपाल लाइफको अत्तरिया शाखाद्वारा ट्राफिक प्रहरीलाई ब्रिगेड हस्तान्तरण

२५ आश्विन २०८३, आईतवार ११:२२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अत्तरिया शाखाले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा ट्राफिक प्रहरीलाई पाँच थान ट्राफिक ब्रिगेड हस्तान्तरण गरेको छ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियालाई उक्त सामग्री हस्तान्तरण गरेको हो। सडक सुरक्षा, ट्राफिक व्यवस्थापनमा सहयोग तथा नागरिकमा ट्राफिक नियमसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा ट्राफिक व्यवस्थापनका लागि आवश्यक सामग्रीको अभावले सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले उक्त सहयोग गरेको हो। कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख चन्द्रबहादुर बिष्ट, अत्तरिया शाखा प्रमुख मोहनबहादुर बोहरा, एमडीआरटी प्रेमसिंह साउद, एजेन्सी म्यानेजर कृष्ण ढाँट, रमेश ढाँटलगायत कम्पनीका प्रतिनिधि तथा ट्राफिक प्रहरी अधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा निजी क्षेत्रको सहकार्य महत्त्वपूर्ण रहेको बताए। यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले ट्राफिक नियमको पालना बढाउन, दुर्घटना न्यूनीकरण गर्न तथा नागरिकको जीवन सुरक्षामा सकारात्मक योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

कम्पनीका अत्तरिया शाखा प्रमुख मोहनबहादुर बोहराले बीमा आर्थिक जोखिम व्यवस्थापनमा मात्र सीमित नभई मानव जीवनको सुरक्षा, सामाजिक सचेतना र सुरक्षित भविष्य निर्माणसँग पनि जोडिएको बताए। मानव जीवनको सुरक्षा साझा दायित्व भएको उल्लेख गर्दै उनले कम्पनीले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिए।

‘प्रहरी मेरो साथी’ भन्ने भावनालाई आत्मसात् गर्दै प्रहरी र नागरिकबीचको सहकार्य सुदृढ बनाउने, ट्राफिक नियमप्रति जनचेतना बढाउने तथा सडक दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले ट्राफिक ब्रिगेड हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो नवौँ वार्षिकोत्सवलाई उत्सवमा मात्र सीमित नराखी समाजप्रतिको दायित्व निर्वाह गर्ने अवसरका रूपमा उपयोग गरेको जनाएको छ। ‘सुरक्षित जीवन, सुरक्षित सडक र समृद्ध समाज’ निर्माणमा सरकारी निकाय तथा निजी क्षेत्रबीचको सहकार्यलाई महत्त्व दिँदै कम्पनीले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*