विश्व भोकमरी सूचकांकमा नेपाल ७२औँ स्थानमा, भोकमरीको अवस्था मध्यम

८ कार्तिक २०८३, आईतवार ०८:२५

काठमाडौं । विश्व भोकमरी सूचकांक (जिएचआई) २०२६ अनुसार नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। प्रतिवेदनले नेपालको भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको छ। पछिल्ला वर्षहरूमा पोषण तथा खाद्य सुरक्षाको क्षेत्रमा सुधार भए पनि भोकमरी र कुपोषणको चुनौती भने कायमै रहेको छ।

प्रतिवेदनअनुसार नेपालले १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ। सन् २०१८ मा नेपालको अंक १८.४ थियो। भोकमरी सूचकांकमा कम अंकले राम्रो अवस्था जनाउने भएकाले पछिल्लो नतिजाले नेपालमा भोकमरीको अवस्थामा सुधार भएको संकेत गर्छ।

दक्षिण एसियाली मुलुकसँग तुलना गर्दा नेपाल तुलनात्मक रूपमा राम्रो अवस्थामा देखिएको छ। श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा रहेको छ भने बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा छन्। अफगानिस्तान भने १०८औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।

दक्षिण एसियाको औसत भोकमरी सूचकांक २३.५ रहेको छ, जुन विश्वको औसत १८.१ भन्दा बढी हो। यसले दक्षिण एसियाली मुलुकहरूमा भोकमरी, कुपोषण तथा खाद्य सुरक्षासम्बन्धी समस्या अझै गम्भीर चुनौतीका रूपमा रहेको देखाउँछ।

विश्व भोकमरी सूचकांकमा देशको अवस्था मूल्यांकन गर्न चार प्रमुख सूचकलाई आधार मानिन्छ। यसमा अपर्याप्त क्यालोरी उपभोग गर्ने जनसंख्याको अनुपात, पाँच वर्षमुनिका बालबालिकामा उमेरअनुसार उचाइ कम हुने समस्या (पुड्कोपन), उचाइअनुसार तौल कम हुने समस्या (ख्याउटेपन) र पाँच वर्ष उमेर नपुग्दै हुने बालमृत्यु दर समावेश छन्।

यी सूचकका आधारमा देशको समग्र भोकमरीको अवस्था मूल्यांकन गरिन्छ। सूचकांकमा प्राप्त अंक घट्दै जानुले भोकमरीको अवस्थामा सुधार भएको संकेत गर्छ। नेपालको अंक सन् २०१८ को तुलनामा घट्नुले सुधार देखाए पनि खाद्य सुरक्षा र पोषणको क्षेत्रमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*