कुन जलविद्युत् कम्पनीको लाभांश कति ? हेर्नुहोस् १३ कम्पनीको विवरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत् क्षेत्रका कम्पनीहरूले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म १३ वटा जलविद्युत् कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले बोनस सेयर र नगद लाभांशमार्फत सेयरधनीलाई प्रतिफल दिने प्रस्ताव गरेका हुन् ।
लाभांश घोषणा गरेका जलविद्युत् कम्पनीमध्ये माउन्टेन इनर्जी नेपाल सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांशसहित कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९४७ प्रतिशत नगद लाभांश गरी कुल १८.९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । सुपर मादी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरले समान १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।
सिकलेस हाइड्रोपावरले १२.७१ प्रतिशत बोनस सेयर र ०.६६९ प्रतिशत नगद लाभांशसहित कुल १३.३७५ प्रतिशत लाभांश घोषणा गरेको छ । माण्डु हाइड्रोपावरले १२ प्रतिशत, स्नो रिभर नेपाल र विकास हाइड्रोपावरले समान १०.५२६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
त्यसैगरी, युनाइटेड मर्दी एन्ड आरबी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरले समान ५.२६ प्रतिशत लाभांश घोषणा गरेका छन् । विद्याबासिनी हाइड्रोपावरले ५.२६३२ प्रतिशत तथा सानिमा मिडल तमोर हाइड्रोपावर र बरुण हाइड्रोपावरले क्रमशः ५.२६३ प्रतिशत र ५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।











