मिनिट्रकले सिटी सफारीलाई ठक्कर दिँदा ८ जना घाइते

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कुपीखोलास्थित भित्री सडकमा मिनिट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा दुई बालिकासहित आठ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको छ।
शनिबार दिउँसो करिब ४ः३० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००५ ह ०२५६ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फ गइरहेको प्रदेश १–०२–००१ ख ८११२ नम्बरको मिनिट्रकले ठक्कर दिएको हो।
दुर्घटनामा सिटी सफारी चालक सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ३५ वर्षीय लोकेन्द्र अधिकारी, बराहक्षेत्र नगरपालिका–५ का १६ वर्षीय रूपेश कार्की र १८ वर्षीया रूविना कार्की तथा बराहक्षेत्र–४ की २४ वर्षीया सुनिता परियार घाइते भएका छन्। उनीहरूको नगर अस्पताल चक्रघट्टीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।
त्यस्तै सुनिता परियारका तीन वर्षीया छोरी सिरिया परियार र ६० दिनकी छोरी सन्ध्या परियार, बराहक्षेत्र–४ की १२ वर्षीया सृष्टि परियार तथा बराहक्षेत्र–५ की ३५ वर्षीया अम्बिका कार्की घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
दुर्घटनामा संलग्न सिटी सफारी र मिनिट्रक तथा चालक भारतको सदापुर जिल्ला, काठ बजारका ३२ वर्षीय इस्पाल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











