बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

८ कार्तिक २०८३, आईतवार ११:०९

काठमाडौं । नेपालमा आगामी बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनीका केही र कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ।

विभागले बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको समेत सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ। वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ।

आज आइतबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोंचमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्नेछ।

सोमबार पनि हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। मंगलबार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने तथा कोशीका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। मंगलबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ।

बुधबार देशभर सामान्यतया बदली रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। ती प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। विभागका अनुसार बिहीबारबाहेक आगामी तीन दिन तथा बुधबारका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन। तर बिहीबार वर्षा तथा हिमपातको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने व्यक्तिलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*