शनिबार देशभर सवारी दुर्घटनामा १० जनाको मृत्यु, १४१ जना घाइते

काठमाडौं । देशका विभिन्न जिल्लामा शनिबार भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्। प्रहरीका अनुसार मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट, ललितपुर र बाँकेमा दुर्घटना भएको हो।
मकवानपुरको हेटौंडा–९ स्थित एचआईडी गेटमा मोटरसाइकल कारसँग ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय सुकराम लोप्चनको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका–११ मा स्कुटरको ठक्करबाट पैदलयात्री ५२ वर्षीय नारायणबहादुर कार्कीको ज्यान गएको छ।
सप्तरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। राजविराज–११ मा मोटरसाइकल चालक २६ वर्षीय सन्दिपकुमार यादव सडकछेउमा घाइते अवस्थामा भेटिएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको हो। त्यस्तै शम्भुनाथ नगरपालिका–८ मा मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पिलरमा ठोक्किँदा २२ वर्षीय सुवाष चौधरीको मृत्यु भएको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय गाडी ट्रकसँग ठोक्किँदा ३७ वर्षीय रञ्जित रामको मृत्यु भएको छ। रौतहटको माधवनारायण नगरपालिका–६ मा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार ५० वर्षीया सुनिता देवी पण्डितको ज्यान गएको छ।
ललितपुरको मानभवनमा मोटरसाइकलको ठक्करबाट बाटो काट्दै गरेकी ५० वर्षीया सक्कली तामाङको उपचारका क्रममा मृत्यु भएको छ।
बाँकेमा तीन छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ। राप्तीसोनारी गाउँपालिका–१ मा दुई कार आपसमा ठोक्किँदा ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ। नेपालगञ्जको कान्तिताल क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा १५ वर्षीय अब्दुल मनिहारको मृत्यु भएको छ। त्यस्तै कोहलपुरस्थित नयाँ बसपार्कमा ई–रिक्सा अनियन्त्रित भई पर्खालमा ठोक्किँदा ३८ वर्षीय चालक हरि राम थारुको ज्यान गएको छ।











