प्रेसमाथि हस्तक्षेपमा संलग्नलाई कारवाही गर्ने रास्वपाको निर्णय, कसले गर्ला बालेनमाथि छानविन र कारवाही ?

काठमाडौं । आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयको बैठकले शुक्रबार सरकारबाट गरिएको पत्रकारमाथिको धरपकड र सञ्चारगृहमा प्रहरी पठाएको घटनाका दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । तर, निर्णयसँगै प्रश्न उठको छ, उक्त घटनाका मुख्य योजनाकार रहेको विश्वास गरिएका बालेन्द्र शाहलाई कसले कारवाही गर्ने ?
पार्टी सभापति रवि लामिछानेले आज बजेको सचिवलायको बैठकपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई संकेत गरेरै स्पष्ट सन्देश दिँदै भनेका छन्, ‘संविधान भन्दा माथि र लोकतन्त्र भन्दा ठूलो केही छैन ।’ यसको अर्थ अप्रत्यक्ष रुपमा बालेनले संविधान कुल्चिएको र लोकतन्त्रको खिल्ली उडाएको आशय व्यक्त गरेका छन् । सत्ताको आडमा प्रहरी प्रयोग गरेर बालेन सरकारले शुक्रबार दिनभर पत्रकारमाथि धरपडक र सञ्चारगृहमै प्रहरी पठाएर आतंक मच्चाएका थिए । बालेन सरकारले मच्चाएको आतंकप्रति अमेरिकी विदेश मन्त्रालयदेखि युरोपको राजधानी ब्रसेल्ससम्मबाट सरकार र पार्टीमाथि गम्भिर नैतिक प्रश्न उठाएपछि आजै पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकपछि सभापति लामिछानेले सरकारको नेतृत्व गरिरहेका बालेन शाहको नाम नलिईकन भने, ‘संविधान भन्दा माथि र लोकतन्त्र भन्दा ठूलो कोही छैन । रास्वपमा यसमा स्पष्ट छ । यसमा आँच पुर्याउने काम जोकोहीले गरेको छ भने त्यो सजायको भागिदार हुनुपर्ने छ, त्यसले जिम्मेवारी लिनुपर्नेछ ।’

पत्रकारहरुलाई पक्राउ गर्न लगाउने कार्यमा प्रधानमन्त्री कार्यालयकै स्पष्ट र कडा निर्देशन रहेको प्रहरीहरुले नै दावी गरेका छन् । साथै सुनकोशी मरिन डाईभर्सनका आयोजना प्रमुखलाई जसरी प्रहरी लगाएर अपहरण शैलीमा बलपूर्वक सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा ल्याएर थुनेर राखियो यस घटनाले समेत बालेन सरकारको गुण्डाराज र संविधानमाथिको नाङ्गो नाच स्पष्ट रुपमा देख्न सकिन्छ । प्रेसमाथि दमनमा प्रधानमन्त्री कार्यालयकै संलग्नता खुलिसकेको अवस्थामा अब पार्टीले संलग्नलाई कारवाही गर्नु भनेर दिएको निर्देशन बालेन शाह आफूले आफैलाई कसरी कार्यान्वयन गर्लान ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा आज बसेको सचिवलायको बैठकले दुई वटा महत्वपूर्ण निर्णय गरेको छ । पहिलो प्रेसमाथि धावा बोल्नेमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिने र दोस्रो बिचौलियासँग सम्बन्ध रहेको भनिएका सर्वोच्च अदालतका न्यायाधीशमाथि कारवाहीको लागि संसदीय समितिलाई निर्देशन दिने । दोस्रो निर्णय कार्यान्वयनको लागि मंगलबार संसदीय समितिको बैठक आह्वान गरिसकिएको छ भने बालेनतर्फको कारवाही अन्योलमा परेको छ । गत आम निर्वाचनबाट २७५ सिटमा १८२ सिट ल्याएर बिजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकको निर्णय कार्यान्वयनमा चुनौति थपिने देखिएको छ ।

आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकले पत्रकार पक्राउ प्रकरणको सत्यतथ्य पत्ता लगाई दोषी देखिएकालाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको सो पार्टीका प्रबक्ता जगदिश खरेलले पत्रकारहरुलाई सार्वजनिक अभिव्यक्ति दिएका छन् । रास्वपाले विधिको शासनलाई आफ्नो प्रमुख मान्यताका रूपमा लिएको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयलाई कानुनी प्रक्रियाबाट सम्बोधन गर्नुपर्नेमा पार्टी स्पष्ट रहेको बताए । प्रबक्ता खरेलले पत्रकारहरुमाथिको धरपकडको घटनापछि सरकारले गल्ती गरेको स्वीकार गर्दै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले यस्तो घटना दोहोरिन नदिन कडा निर्देशन दिएपछि पक्राउ परेका पत्रकारलाई रिहा गरिएको पनि उनले खुलाएका छन् । यद्यपि प्रधानमन्त्री कार्यालयबाटै दिइएको आदेशको जिम्मेवारी बालेन्द्र शाहले मातहतको निकायलाई देखाएर पन्छिन खोजिरहेका छन् ।











